

वीरगंज | गृहमन्त्री सुधन गुरुङले चाडपर्वका अवसरमा देउसी–भैलो खेल्ने नाममा हुने कुनै पनि किसिमका अश्लील तथा विकृत गतिविधिमाथि कडा निगरानी राख्दै निर्मम कारबाही गरिने बताएका छन्।
मौलिक संस्कृति र परम्परालाई विकृत बनाउन खोज्ने कार्यप्रति गृह मन्त्रालय पूर्ण रूपमा गम्भीर रहेको उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले हाम्रो मौलिक परम्परा तथा सांस्कृतिक मर्यादालाई आँच आउने गरी देउसी–भैलो मनाउने क्रममा हुने अमर्यादित क्रियाकलापलाई कानुन बमोजिम नियन्त्रण गरिने चेतावनी दिएका छन्।
यसैगरी, आफ्ना संस्कार र परम्परा जोगाउन मन्त्रालय दृढ रहेको बताउँदै उनले समाजमा यस्ता अवाञ्छित गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरी सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।


