

मलेसिया । मलेसियाका महान्यायाधिवक्ताले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई जेलबाट रिहा गर्न ढिलाइ गरेर शाही आदेश अस्वीकार गर्न खोजेको राजा सुल्तान इब्राहिमले शनिबार बताएका छन् । उनले दिएको माफीमा कुनै अस्पष्टता नरहेको बताएका छन् ।
आर्थिक अनियमिततासँग जोडिएको मुद्दामा ७३ वर्षीय नजिब अहिले जेलमा रहँदै आएका छन् । वन मलेसिया डेभलपमेन्ट बेरहाद (यन एमडीबी) नामक सार्वभौम सम्पत्ति कोषबाट ठूलो रकम लुटिएको घटनामा संलग्न भएको अभियोगमा उनलाई थुनामा राखिएको छ ।



शुक्रबार देशका महान्यायाधिवक्ताले जरिवाना तिरिसकेपछि पनि पूर्वप्रधानमन्त्रीलाई गृहबन्दीमा स्थानान्तरण गर्न रोकेका थियो । उनको कार्यालयले माफीबारे थप स्पष्टीकरण चाहेको बताएको थियो । राजा इब्राहिमले शनिबार भने, “स्पष्ट पार्नुपर्ने केही छैन। माफी दिने निर्णय ‘स्पष्ट, प्रत्यक्ष र कुनै अस्पष्टतारहित’ छ ।
“व्याख्यामा कुनै भ्रम हुनुहुँदैन,” राजा इब्राहिमले वक्तव्यमा भनेका छन् । यो माफी पूर्वनेता विरुद्धका अन्य मुद्दासँग नजोडिएको बताएका छन् ।
“सशर्त माफी आदेशका सबै सर्त पूरा भइसकेकाले यस आदेशमाथि प्रश्न उठाउने कुनै पनि तर्क महामहिम राजाको आदेश अस्वीकार गर्ने दिशामा जान्छ।” नजिबका वकिलहरूले शनिबार राजालाई धन्यवाद दिएका छन् ।
उनीहरूले अधिकारीहरूले रजाकलाई ‘एक क्षण पनि’ जेलमा राख्नुपर्ने ‘कुनै आधार’ नरहेको बताएका दावी गरेका छन् । उनीहरूले महामहिमको आदेशअनुसार उनलाई तुरुन्त जालान लाङ्गाक दुतास्थित आफ्नो निवासमा गृहबन्दी जीवन काट्न स्थानान्तरण गर्नुपर्छ,” वकिल फरहान शाफीले वक्तव्यमा भनेका छन् ।
केही समयपछि महान्यायाधिवक्ताको कार्यालयले आफ्नो वक्तव्य जारी गर्दै राजाको अधिकारमा चुनौती नदिएको बताएका छन् । नजिबलाई तुरुन्त रिहा गर्ने सङ्केत छैन। “यो कदम सशर्त माफी आदेश कार्यान्वयनमा ढिलाइ वा अस्वीकार गर्ने उद्देश्यले होइन। बरु लागू भएका आदेशहरूको कार्यान्वयनमा कुनै द्वन्द्व नहोस् र कुनै सजाय गैरकानुनी रूपमा कार्यान्वयन नहोस् भन्ने सुनिश्चित गर्न हो,” कार्यालयले भनेको छ ।
केही घण्टापछि प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “महान्यायाधिवक्ताले छलफलका लागि राजासँग भेटघाटका लागि समय मागेको छ।”
नाजिबले ‘माफी माग्न’ र सजायँ पालना गर्ने इच्छा व्यक्त गर्नुपर्नेमा सरकार दृढ छ तर कानूनी प्रश्न बाँकी रहेको र यसको अदालतले मात्र निर्णय गर्न सक्छ भन्नेमा महान्यायाधिवक्ताको कार्यालय रहेको छ।
एक दिनअघि महान्यायाधिवक्ताको कार्यालयले नजिबको माफीका सर्तहरूबारे थप अनुसन्धान नहुन्जेल ‘गृहबन्दी कार्यान्वयन अस्थायी रूपमा स्थगन’ गर्न खोजेको बताएको थियो । र त्यअघि उनी जेलमै रहने बताइएको थियो ।
“यस अवधिमा सम्बन्धित अधिकारीहरूको अधिकार र निर्देशनअन्तर्गत उहाँको थुनाको स्थिति हालको थुना स्थानमै कायम रहनेछ,” कार्यालयले भनेको छ ।
एएफपीका एक संवाददाताले शुक्रबार नजिबलाई काजाङ जेल परिसरबाट कारमा बाहिर निस्केको देखेको र त्यसको पछि गाडीहरूको लस्कर लागेको देखेको बताएका छन् ।
नजिब आफ्नो घरमा भने पुगेको देखिएको छैन । मलेशियाका एक मन्त्रीले नाजिबकोबारे बोल्दै उनलाई पहिले नै तोकिएको दाँतको उपचारका लागि बाहिर लगिएको पुष्टि गरेका छन् ।
जेल परिसरबाट नजिबलाई लगेको त्यही गाडीहरू चार घण्टाभन्दा बढीपछि प्रहरीको सुरक्षामा फर्किएको थियो । नजिबलाई सन् २०२० जुलाईमा पहिलो मुद्दामा १२ वर्ष जेल सजाय सुनाइएको थियो ।
यो मुद्दा यन एमडीबीको पूर्व सहायक कम्पनी एसआरसी इन्टरनेसनल एसडीएन भीडीबाट ठूलो रकम हिनामिना भएकोमा थियो । माफी बोर्डले पछि सजाय आधा घटाएको थियो र जरिवाना पाँच करोड रिङ्गिट (उक करोड २३ लाख डलर) मा झारिएको थियो ।
यो मुद्दामा उनको सजाय सन् २०२८ अगस्टसम्म पूरा हुने तालिका छ । नजिबको डिसेम्बरको गृहबन्दीको माग अस्वीकार भएको केही दिनपछि उनलाई अर्को मुद्दामा थप १५ वर्ष जेल सजाय सुनाइएको थियो। यो पनि वन एमडीबी काण्डसँग जोडिएको छ।
नजिबलाई भ्रष्टाचार काण्डमा एक अर्ब १४ करोड रिङ्गिट जरिवाना पनि तोकिएको छ। यो काण्ड एक दशकअघि भएको थियो । उनी हाल १५ वर्षको सजायविरुद्ध अपिल गरिरहेका छन् ।
यो सजाय ६ वर्षको सजाय पूरा भएपछि मात्र सुरु हुनेछ । मलेसियाका संस्थापक नेताहरूमध्ये एकका छोरा नजिब सानैदेखि नेतृत्वका लागि तयार पारिएका व्यक्ति रहेका थिए ।
भ्रष्टाचार काण्डमाथि बढ्दो सार्वजनिक रिसले उनी शक्तिबाट नाटकीय रूपमा पतन हुन पुगेका थिए । सन् २०१८ को चुनावमा हारेपछि लगातारका सरकारहरूले गरेका अनुसन्धानमा उनी र उनकी पत्नी रोस्माह मनसुर भ्रष्टाचारको आरोपमा फसेका छन् ।
अभियोजकहरूका अनुसार नजिबले प्रधानमन्त्री, अर्थमन्त्री र वन एमडीबी सल्लाहकार बोर्ड अध्यक्षको पद दुरुपयोग गरी कोषबाट ठूलो रकम आफ्नो व्यक्तिगत खातामा सारेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार कोषको आम्दानीबाट उच्चस्तरीय घरजग्गा, एउटा विलासी डुङ्गा र मोनेट तथा भ्यान गगसहितका बहुमूल्य कलाकृतिहरू किनिएका थिए ।


