

जनकपुरधाम । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा विभिन्न चारवटा परियोजनाको उद्घाटन गर्ने तयारी गरिएको छ । जनकपुरधाम–अयोध्या रेल सेवा, काभ्रेको पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, भैरहवाको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र लुम्बिनीमा निर्माण भएको बौद्ध विहार उद्घाटनका लागि एजेन्डामा राख्ने तयारी भइरहेको हो । भ्रमणको औपचारिक मिति र कार्यक्रम सार्वजनिक भइनसके पनि दुवै देशका अधिकारीहरू एजेन्डा तय गर्न जुटेका छन् । यसैक्रममा भारतीय विदेश सचिव विक्रम मिस्रीले कात्तिक १८ र १९ गते काठमाडौं भ्रमण गरी प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा प्रारम्भिक छलफल गरेका थिए ।
भ्रमणका क्रममा सबैभन्दा बढी चासोको विषय जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने परियोजना बनेको छ । राम र सीताको जन्मभूमिलाई रेल यातायातमार्फत जोड्ने योजनाअन्तर्गत सेवा सञ्चालनको तयारी भइरहेको छ । यसका लागि बिहीबार भारतीय रेल ल्याएर प्राविधिक परीक्षणसमेत गरिएको थियो । भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म डब्लुडिपी ४ डी ४०४०३ नम्बरको इन्जिनसहित १७ बोगी भएको रेल सञ्चालन गरेर परीक्षण गरिएको हो । ६७ जना भारतीय प्राविधिक सम्मिलित टोलीले रेलमार्गको अवस्था, लिकको गुणस्तर र रेलको गति लगायतका प्राविधिक पक्षको परीक्षण गरेको नेपाल रेल्वे कम्पनीका एक अधिकारीले जानकारी दिए ।



दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने योजनाअनुसार तयारी अघि बढाइएको ती अधिकारीको भनाइ छ । प्रारम्भिक योजनाअनुसार पहिलो चरणमा साताको एक दिन भारतको अयोध्याबाट बिहान जनकपुरधाम आउने र अर्को दिन जनकपुरधामबाट बेलुका छुटेर बिहान अयोध्या पुग्ने गरी रेल सञ्चालन गर्ने तयारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनकपुरधाम र अयोध्यालाई रेल यातायातबाट जोड्ने विषयमा चासो राख्दै आएका छन् । त्यसैले शाहको भारत भ्रमणलाई रेल सेवा उद्घाटनको अवसरका रूपमा उपयोग गर्ने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ । यद्यपि, भ्रमणको एजेन्डा अझै अन्तिम रूप लिइसकेको छैन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनकपुरधाम–अयोध्या रेल उद्घाटनको विषय छलफलमा रहेको तर औपचारिक निर्णय भइनसकेको बताए ।
यसैगरी, भारत सरकारको आर्थिक सहयोगमा काभ्रेको पनौतीमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पनि दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा उद्घाटन गराउने तयारी छ । ८२२ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको काम ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । भारतको १० अर्ब १ करोड ५१ लाख रुपैयाँ (भ्याटबाहेक) लागतमा निर्माण भइरहेको प्रतिष्ठानमा ६७ वटा भौतिक संरचना तयार गरिएका छन् । हाल काठमाडौंको महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनौतीमा स्थानान्तरण गर्ने उद्देश्यले २०५२ सालदेखि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको थियो । लामो समयदेखि निर्माणाधीन यो परियोजना अहिले सम्पन्न हुने चरणमा पुगेको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उद्घाटनको तयारी गरिएको अर्को आयोजना भैरहवास्थित एकीकृत भन्सार जाँच चौकी हो। नेपाल–भारत व्यापारलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा निर्माण गरिएको आईसीपीको भौतिक संरचना तयार भइसकेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्सले सन् २०२३ मा निर्माण सुरु गरेको आयोजना नेपाललाई हस्तान्तरण गर्ने प्रक्रियामा छ । एक अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँ लागतमा निर्माण गरिएको आईसीपीमा आयाततर्फ करिब ७०० र निर्याततर्फ ३०० गरी एक हजार मालवाहक ट्रक पार्किङ गर्न सकिने व्यवस्था छ । यसका लागि १७ वर्षअघि नै ५२ बिघा जग्गा अधिग्रहण गरिएको थियो ।
यद्यपि, उद्घाटन हुँदैमा आईसीपी पूर्ण रूपमा सञ्चालनमा आउने अवस्था भने छैन । कार्यालय सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापन मिलाउनुपर्ने भएकाले उद्घाटनपछि पनि पूर्ण क्षमतामा सञ्चालन गर्न केही महिना लाग्न सक्ने पौडेलले बताए ।
त्यस्तै, लुम्बिनीमा भारतको सहयोगमा निर्माण भएको बौद्ध विहार पनि उद्घाटनको सूचीमा छ । सन् २०२२ मे १६ अर्थात् २०७९ जेठ २ गते बुद्धजयन्तीका अवसरमा लुम्बिनी भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगै उक्त विहारको शिलान्यास गरेका थिए ।भारतको संस्कृति मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय बौद्धिष्ट परिसंघले निर्माण गरेको विहार कमलको फूलको आकारमा तयार गरिएको छ । लुम्बिनी विकास कोषले गुरुयोजनाभित्र विभिन्न देशलाई आ–आफ्नो बौद्ध संस्कृति झल्किने विहार निर्माण गर्न अनुमति दिँदै आएको छ । कोषका प्रवक्ता ज्ञाणिन राईका अनुसार भारतले पनि यही व्यवस्थाअनुसार विहार निर्माण गरेको हो । निर्माण सम्पन्न भइसकेको उक्त संरचनाको उद्घाटन शाहको भारत भ्रमणका क्रममा गर्ने तयारी छ ।
यी परियोजनाबाहेक प्रधानमन्त्रीको भारत भ्रमणमा जलविद्युत् आयोजनाको उद्घाटन गर्ने विषयमा पनि छलफल भइरहेको छ । सुरुमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनालाई भ्रमणको एजेन्डामा समावेश गर्नेबारे चर्चा भए पनि निर्माणको १५ देखि २० प्रतिशत काम बाँकी रहेकाले तत्काल उद्घाटन सम्भव नदेखिएको अधिकारीहरूले बताएका छन् । त्यसैले कुन जलविद्युत् आयोजनालाई उद्घाटनको सूचीमा राख्ने भन्ने टुंगो लागिसकेको छैन । प्रधानमन्त्री शाहको भ्रमणलाई परियोजना उद्घाटनमा मात्र सीमित नराखी द्विपक्षीय सहयोग विस्तारको अवसरका रूपमा उपयोग गर्ने सरकारको तयारी छ । भ्रमणका क्रममा ऊर्जा, सडक पूर्वाधार र विपद्पछिको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग माग्ने प्रस्तावसमेत तयार भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले पु¥याएको क्षतिको पुनर्निर्माण, ऊर्जा क्षेत्रका आयोजना र सडक पूर्वाधार विकासलाई सहयोगको प्राथमिकतामा राखिएको छ । यी क्षेत्रमा केही रकम अनुदान र केही सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराउन भारतसँग अनुरोध गर्ने सरकारको तयारी रहेको छ । भारतीय विदेश सचिव मिस्रीको काठमाडौं भ्रमणका क्रममा पनि नेपालका प्राथमिकता र भ्रमणका एजेन्डाबारे प्रारम्भिक छलफल भएको थियो । अहिले परराष्ट्र, अर्थ तथा सम्बन्धित मन्त्रालयहरूबीच एजेन्डालाई अन्तिम रूप दिने काम भइरहेको छ । तर प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति र विस्तृत कार्यक्रम भने सार्वजनिक हुन बाँकी छ ।


