

जनकपुरधाम । सर्लाहीमा मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरिएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स सशस्त्र प्रहरीले बरामद गरेको छ ।
ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४/३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार उक्त लागुऔषध बरामद गरेको हो ।



सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको कमान्डमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो ।
तर, प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ फरार भएका थिए । त्यसपछि प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाएर राखिएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला पारेको हो ।


