

न्यूयोर्क | अमेरिकाको न्यूयोर्कस्थित क्याथोलिक चर्चले धर्मगुरुहरूबाट यौन दुर्व्यवहारमा परेका करिब १ हजार ३०० पीडितलाई ८० करोड डलरभन्दा बढी क्षतिपूर्ति दिने सहमति गरेको छ।
न्यूयोर्कको आर्कडायोसिसले शनिबार उक्त सहमति भएको घोषणा गरेको हो। वर्षौँदेखि पीडितहरूको प्रतिनिधित्व गर्ने वकिलहरूसँग भएको वार्तापछि यो सम्झौता भएको हो। सम्झौतामा नोभेम्बरको सुरुवातमा औपचारिक हस्ताक्षर हुने अपेक्षा गरिएको छ।



अमेरिकामा क्याथोलिक चर्चभित्र दशकौँदेखि हुँदै आएको धर्मगुरुहरूबाट यौन दुर्व्यवहारका घटनाहरू र ती घटनालाई चर्च नेतृत्वले कसरी सम्हाल्यो भन्ने विषयमा प्रश्न उठिरहेका बेला यो सहमति भएको हो।
न्यूयोर्कका आर्कबिशप रोनाल्ड हिक्सले आफ्ना पादरीहरूलाई पठाएको इमेलमा पीडितहरूलाई केही हदसम्म भए पनि उपचार, राहत र मेलमिलापको अनुभूति गराउन सकिने अवस्थामा पुगेको उल्लेख गरेका छन्।
समाचारपत्र द न्यूयोर्क टाइम्स का अनुसार करिब १ हजार ३०० पीडितमध्ये प्रत्येकले कम्तीमा २ लाख ५० हजार डलर क्षतिपूर्ति पाउनेछन्। दुर्व्यवहारको गम्भीरताका आधारमा उनीहरूले थप रकमसमेत पाउन सक्नेछन्।
म्यानहट्टन, स्टेटन आइल्याण्ड, ब्रोंक्स र न्यूयोर्क सहरको उत्तरतर्फका केही काउन्टी समेट्ने आर्कडायोसिसले अब सुसमाचार प्रचार, बिरामीको उपचार, गरिब तथा आवश्यकतामा परेकाहरूको हेरचाह, आगन्तुकलाई स्वागत र बालबालिकाको शिक्षाजस्ता आफ्नो मूल काममा पूर्ण ध्यान दिन सक्ने हिक्सले इमेलमा उल्लेख गरेका छन्।
पोप लियो चौधौँले गत वर्ष हिक्सलाई बिशप नियुक्त गरेका थिए। उनले प्रभावशाली तथा रूढिवादी कार्डिनल टिमोथी डोलनको स्थान लिएका हुन्। पद छाड्नुअघि डोलनले यौन दुर्व्यवहारका पीडितलाई क्षतिपूर्ति दिन ३० करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेका थिए।
सन् २००० को दशकमा भएका पत्रकारितामूलक अनुसन्धानहरूले अमेरिकामा क्याथोलिक पादरीहरूले दशकौँसम्म हजारौँ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको तथ्य सार्वजनिक गरेका थिए। त्यस्ता घटनामा चर्चका नेतृत्वले धेरैजसो घटना लुकाएको वा दोषी पादरीलाई नागरिक प्रशासनसमक्ष जानकारी गराउनुको सट्टा अन्यत्र सरुवा गरेको आरोपसमेत सार्वजनिक भएको थियो।
अमेरिकाका विभिन्न डायोसिसहरूले क्षतिपूर्तिबापत करोडौँ डलर भुक्तानी गरिसकेका छन्। अदालतमा मुद्दा नलगी पीडितलाई क्षतिपूर्ति दिने कार्यक्रमसमेत सञ्चालन गरिएका छन्।
गत जुन महिनामा सान फ्रान्सिस्कोको आर्कडायोसिसले आफ्ना धर्मगुरुहरूबाट यौन दुर्व्यवहारमा परेका करिब ५३० पीडितको मुद्दा टुंग्याउन ३९ करोड ५० लाख डलर क्षतिपूर्ति दिने सहमति गरेको घोषणा गरेको थियो।


