
सिरहा | सिरहा प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार २०८२ भदौ ३० गते राति करिब ८ बजे गोप्य सूचनाका आधारमा चौहर्वातर्फबाट आउँदै गरेको ज. १ च २२२३ नम्बरको एम्बुलेन्सलाई सिरहा नगरपालिका–७ स्थित सडकखण्डमा पछ्याउँदै नियन्त्रणमा लिइएको हो।
प्रहरी टोलीले एम्बुलेन्सका चालक फरार भएपछि गाडी नियन्त्रणमा लिएर जाँच गर्दा एम्बुलेन्सभित्र जुटको ५ वटा बोरामा लुकाइराखिएको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। तौल गर्दा उक्त पदार्थ १०५ किलो ग्राम रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बरामद पदार्थसहित एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको छ। फरार रहेका एम्बुलेन्स चालकको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।