
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा रहेको गोल्डेन फिङ्गर गेमिङ जोन क्यासिनोमा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवसँगै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी पनि क्यासिनोभित्र जुवा खेलिरहेको देखिने भिडियो सार्वजनिक भएको छ ।
गत शनिबार राति प्रहरीले क्यासिनोमा छापा हानेर जुवा खेलेको आरोपमा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित चार जना तथा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका चार कर्मचारी गरी आठ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका आठै जना हाल प्रहरी हिरासतमा रहेको जनाइएको छ ।
तर, घटनापछि सार्वजनिक भएको भिडियोमा यादवसँगै जिराभवानी गाउँपालिका अध्यक्ष चौधरी पनि क्यासिनोभित्र जुवा खेलिरहेको देखिएपछि प्रकरण थप चर्चामा आएको छ ।
क्यासिनो स्रोतका अनुसार प्रहरी टोली छापा मार्न पुगेपछि अध्यक्ष चौधरी क्यासिनोको रेस्ट रुममा लुकेर बसेको चर्चा चलेको थियो । यद्यपि, सार्वजनिक भएको भिडियोमा टोपी लगाएका एक व्यक्ति क्यासिनोभित्र देखिन्छन् । उनी अध्यक्ष चौधरी नै भएको दाबी गरिएको छ । भिडियोमा देखिएको व्यक्ति अध्यक्ष चौधरी नै हुन् वा होइनन् भन्ने विषय भने आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ ।
प्रहरीले क्यासिनोमा पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानका क्रममा क्यासिनोको सीसीटीभी फुटेजलगायत उपलब्ध प्रमाणको समेत अध्ययन भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच, सार्वजनिक भिडियोमा क्यासिनोभित्र देखिएका अर्का जनप्रतिनिधि अध्यक्ष चौधरीमाथि तत्काल कारबाही नभएको विषयले पनि प्रश्न उठाएको छ । एउटै घटनासँग सम्बन्धित भिडियोमा जुवा खेलिरहेको देखिएका व्यक्तिमध्ये अध्यक्ष यादव पक्राउ पर्नु र अध्यक्ष चौधरी पक्राउ नपर्नुले प्रहरीको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्न निषेध रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधिहरू नै क्यासिनोभित्र पुगेको देखिएपछि क्यासिनो सञ्चालकको भूमिकामाथि समेत प्रश्न उठेको छ । समाचार स्रोतका अनुसार अध्यक्ष चौधरी क्यासिनोमा नियमित रूपमा आउने–जाने गरेको दाबीसमेत गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
यस विषयमा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर, उनको मोबाइल स्विच अफ रहेकाले प्रतिक्रिया लिन सकिएन ।
त्यस्तै, प्रहरीको प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन नउठेकाले तत्काल प्रतिक्रिया प्राप्त हुन सकेन ।
सार्वजनिक भिडियो, क्यासिनोको सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ । अध्यक्ष चौधरी भिडियोमा देखिएको व्यक्ति स्वयं हुन् वा होइनन्, उनको क्यासिनो प्रवेश तथा सम्भावित संलग्नताको कानुनी अवस्था के हो र उनीमाथि कारबाही हुन्छ वा हुँदैन भन्ने विषय भने प्रहरी अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ ।