
बारा । सिकिन्द्र साह । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाको सम्झनामा बाराको सिम्रौनगढमा दीप प्रज्वलन गरिएको छ।
देश शोकमा डुबिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवाहरूले सिम्रौनगढ नगरपालिकामा दीप प्रज्वलन गर्दै बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
दीप प्रज्वलनमार्फत सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनासमेत गरिएको थियो।
कार्यक्रमबारे रास्वपा बारा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति रजनिस कुसवाहा र सिम्रौनगढ नगर अध्यक्ष राजु कुमार गुप्ताले जानकारी दिएका छन्।