
वीरगंज | विनाशकारी बाढीका कारण बाढी प्रभावित क्षेत्र नुवाकोटका व्यापारी व्यवसायी समस्यामा परेका छन् । त्यहाँका पसल, उद्योगधन्दा, व्यावसायिक फर्म, प्रतिष्ठान, घर जग्गासमेत बाढीले बगाएर लगेपछि उहाँहरुलाई जीवन धान्न धौ–धौ भएको छ ।
नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित प्रमुख व्यापारिक केन्द्र ढुङ्गेबजार, त्रिशुली र देवीघाट बजार बाढीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएपछि त्यहाँका व्यवसायी मारमा छन् । नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष धननारायण चित्रकारले आफ्नो २० करोड रुपियाँ बरावरको सम्पत्ति नष्ट भएको दुखेसो पोख्नुभयो।
चित्रकारको ५ करोड बराबरको व्यवसाय र १५ करोड मूल्य पर्ने जमिन बाढीले बगाएको छ । नुवाकोटको बट्टार बजारमा पोल्ट्री व्यवसाय सञ्चालन गर्दै आउनुभएका चित्रकारको २५ हजार कुखुरा समेत बाढीले बगाएको छ । “बैंकबाट ऋण लिएर व्यवसाय गरेको थिएँ, आम्दानीको स्रोत सबै बाढीले लग्यो । अब किस्ता र ब्याज कसरी तिर्ने ?”
चित्रकारले भन्नुभयो, “दुईचार वर्ष ब्याज मिनाहा, ऋणको म्याद थप वा केही प्रतिशत ऋण मिनाहा गरिदिने हो भने हामीजस्ता व्यवसायीलाई केही राहत हुनेथियो ।” उहाँकाअनुसार बाढीले व्यवसाय क्षतिग्रस्त बनाएकामध्ये करिब ९० प्रतिशत व्यवसायीले बैंकबाट ऋण लिनुभएको छ।
नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बाढीप्रभावित क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दैआएका व्यवसायी अहिले मागेर खानुपर्ने स्थितिमा पुगेको बताउनुभयो । बैंक, स्कुल, कलेज, हार्डवेयर, किराना पसल, पोल्ट्रीफर्म, डेरी, तरकारी, फलफूल, कपडा पसल लगायतका सबै व्यापारिक प्रतिष्ठान बाढीले बगाएकाले लयमा आउन वर्षौँ लाग्ने अध्यक्ष श्रेष्ठको भनाइ छ।
“व्यवसाय, घरबार डुब्यो, त्यसमाथि ऋण तिर्नुपर्ने छ । यसको कारण व्यवसायीलाई ठुलो पीडा र तनाव छ । कतै कोठा खोजेर व्यापारी साथीका लागि खान बस्नको व्यवस्था मिलाउने सम्बन्धमा छलफल गरिरहेका छौँ” अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्काललाई सुरक्षित खाली स्थानमा सामूहिक आवास बनाएर बाढीपीडितको व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ। स्थानीय तहले बाढीले बगाएका क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा उठाउने ठेक्का दिनु उपयुक्त हुने उहाँको धारणा छ।
अध्यक्ष श्रेष्ठका अनुसार नुवाकोटका बाढीप्रभावित क्षेत्रमा चहलपहल छैन । दशैंको मुखमा व्यापार छैन । जग्गा, जमिन, व्यापार, व्यवसायको लगत संकलन गरेर उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो।
त्रिशुली पुलमा फोटो स्टुडियो सञ्चालन गर्दै आउनुभएका निदेश श्रेष्ठको स्टुडियो र घर बाढीले बगाएको छ । यसबाट उहाँलाई करिब एक करोड रुपियाँ नोक्सान भएको उहाँको भनाइ छ। घरको कतिपय सदस्यले बाढीमा परी ज्यान गुमाउनुभएको र शव पत्ता लगाउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ताराबहादुर कार्कीले नुवाकोटमा बाढीले व्यवसाय र घरजग्गा बगाएपछि करिब एक हजार व्यवसायी सुकुम्बासी भएको जानकारी दिनुभयो।
“व्यवसाय गर्ने वातावरण छैन, व्यापार व्यवसायको स्थिति नाजुक छ, बाढी आएको ठाउँमा पुनः व्यवसाय सञ्चालन गर्न सकिँदैन । अन्य ठाउँमा सरेर व्यापार व्यवसाय सञ्चालन गर्नेबाहेक अरु उपाय छैन” कार्कीले भन्नुभयो । पुल बगाएर लगेपछि जिल्लाको अन्य स्थानमा पनि सामान ढुवानी गर्न समस्या भएको छ । जिल्लामा आन्तरिक र बाह्य पर्यटक आएका छैनन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जिल्लाका दुई संस्थागत विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको बताउनुभयो । विदुर नगरपालिका –१० स्थित उत्तरगया पब्लिक स्कुल र विदुर –१ को त्रिशुली सामुदायिक विद्यालयको भवन बाढीले बगाएको छ ।
त्यसैगरी रसुवाको मोर्डन ट्रिनिटी स्कुल पनि बाढीमा परेको थियो । अध्यक्ष अधिकारीले अन्य निजी विद्यालयबाट सहयोग संकलन गरी पुनःस्थापनामा सहयोग गरिने जानकारी दिनुभयो । प्याब्सन, नुवाकोटले बाढीप्रभावित क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क अध्ययन र आवश्यकताअनुसार छात्रावासको व्यवस्था मिलाउने निर्णय गरेको छ। नागरिक समाज, नुवाकोटका अध्यक्ष बद्री त्रिपाठीले खोला बग्ने स्थानमा व्यवसाय सञ्चालन र बस्ती बसाउन नहुने सुझाव दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले नेपाल सरकारले बाढी प्रभावितको आर्थिक भौतिक क्षतिको यथार्थ तथ्याङ्क संकलन गरी आवश्यक सहयोग गर्ने बताउनुभयो।
विदूर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलका अनुसार बाढीका कारण नगरपालिकाको करिब एक हजार पाँचसय घरपरिवार विस्थापित भएका छन् । नगरपालिकाले प्रतिपरिवार तत्काललाई एक महिनाको कोठा भाडा र दुई महिनासम्म पुग्ने राशन, लत्ता कपडा लगायतका सामग्री उपलबध गराउने जनाएको छ । धनजन क्षतिको यथार्थ विवरण आउन अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।