
बिरगंज | बिरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ। बिरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले उक्त धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले स्थानीय समुदायको सामाजिक तथा सांस्कृतिक कार्यहरूलाई सहज बनाउन धर्मशालाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र विकास निर्माणका कार्यलाई महानगरपालिकाले सधैं प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
उक्त उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराई तथा स्थानीय अगुवा र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले धर्मशाला निर्माणले वडावासीलाई विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न ठूलो टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका थिए।
