
वीरगंज | प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका लागि शनिबार पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ जाँदै छन्।
उनी शुक्रबार काठमाडौंबाट पनि सडकमार्गबाटै पोखरा आएका थिए। पोखराको अन्नपूर्ण इको भिलेज रिसोर्टमा उनी बास बसेका थिए।
प्रधानमन्त्री बालेन सडकमार्ग भएरै मुस्ताङ जाने भए पनि त्यो रूटको बेनी-जोमसोम सडक खण्ड बिहानैदेखि अवरूद्ध छ।
बेनी–जोमसोम सडकको दुई ठाउँमा लेदो पहिरो खसेपछि यातायात बिहानैदेखि प्रभावित छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित सडक माथिबाट शनिबार बिहान ५:२५ बजे लेदोसहितको पहिरो खसेपछि त्यहाँ सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो।
म्याग्दीकी निमित्त प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीका अनुसार त्यहाँको पहिरो भने हटाइसकिएको छ।
म्याग्दीकै रघुगंगा गाउँपालिका–२ बैसरीमा शनिबार बिहान ५:३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको थियो। पहिरोका कारण बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले बैसरीको पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको बताइन्।
‘अबको करिब ४० मिनेटमा पहिरो पूर्ण रूपमा हटाएर सडक सञ्चालनमा ल्याइने छ,’ उनले भनिन्।
