
वीरगंज | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारत र नेपालबीचको खुला सीमा बन्द गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले भारत जान पनि भिसा सिस्टम बनाउनुपर्ने बताए।
उनले भने, ‘भारत र नेपालबीचको खुला सीमा राख्न हुँदैन। भिसा सिस्टम बनाऔँ। सील गरौँ। ताकि थाहा होस् कति नेपाली भारत गएर बसिरहेका छन्, कति लाख भारतीय नेपालमा आएर बसिरहेका छन्।’
उनले खुला सीमाना हुँदा मानव बेचविखनसहित विभिन्न आपराधिक गतिविधि बढेको बताए।उनले भने, ‘दुनियाँमा कतै नभएको भारत र नेपालको सिमाना चाहिँ खुला हुनुपर्ने? यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिसा सिस्टम लागू गर्नुपर्छ। र रेकर्ड राख्नुपर्छ।’
