वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका – २ श्रीपुरमा आयोजित नि:शुल्क आँखा जाँच शिविरमा चार सय ४५ जनाको परीक्षण गरिएको छ ।
शिविरका क्रममा आँखा जाँच गरिएका अधिकांशमा मोतीबिन्दुको समस्या देखिएको आयोजक संस्था नेपाल नेत्र ज्योति सङ्घ पर्साले जनाएको छ । आँखा परीक्षण गरिएका मध्ये एक सय ५८ जनाको आँखामा मोतीबिन्दुको समस्या देखिएको संस्थाले जनाएको हो ।
शिविर नेपाल नेत्र ज्योति सङ्घ आरएम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा आयोजना गरिएको थियो ।
मोतीबिन्दु देखिएका सम्पूर्ण बिरामीहरूको केडिया आँखा अस्पतालले नि:शुल्क शल्यक्रिया गर्ने छ ।
अर्थ र पहुँचको अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले नेत्र ज्योति सङ्घ स्वदेशी तथा विदेशी दातृ निकायहरूसँगको सहकार्यमा देशै भरी बर्सेनि हजारौँको नि:शुल्क रूपमा यस्ता आँखा शिविर सञ्चालन गरेर सेवा दिइरहेको हुन्छ । छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्वअन्तर्गत नेत्र ज्योतिलाई शिविर सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखा मार्फत सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गरिरहेको छ ।
स्थापनादेखि हालसम्म सङ्घले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरू मार्फत कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई सेवा उपलब्ध गराएको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।