वीरगंज । समाजवादी प्रेस सङ्गठन नेपालले आफ्नो दोस्रो स्थापना दिवस देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यसै बची सङ्गठनको पर्सा शाखाले आइतबार साँझ वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरूले सुशासनको पक्षमा कलम चलाउनु पर्ने बताए । उनले पत्रकारहरू सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताए । एकीकृत समाजवादीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको चर्चा गर्दै जनताको न्यायको पक्षमा पत्रकारहरू निडर भएर कलम चलाउनु पर्ने बताए ।
समाजवादी प्रेस सङ्गठन पर्साको अध्यक्ष मनोज पटेलको सभापतित्वमा भएको कार्यक्रममा समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय सचिव ब्रिजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोठे मगर, दलित मुक्ति सङ्गठन पर्साका अध्यक्ष सुशील हजरा, सङ्गठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन, सहसचिव विनोद पटेल, कोषाध्यक्ष हरिशङ्कर शर्मा, कार्यसमिति सदस्यहरू सन्तोष साह, सरोज पटेल, श्रवण साह, पत्रकार दिपु बर्णवाल लगायतको उपस्थिति रहेको थियो ।