वीरगंज । भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २२८ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। बाँकी २७ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।
बाल सुधार गृहमा २७१ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्। आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए।
त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका डिएसपी पाठकले जानकारी दिए। ‘तोडफोड हुँदा प्रहरी र केही बन्दी घाइते भएका छन्,’ डिएसपी पाठकले भने। सुधार गृहमा १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन्।