वीरगंज । भारतको हिमाञ्चल प्रदेशको सिम्लामा भारी वर्षासँगै पहिरो जाँदा त्यहाँको प्राचिन शीवमन्दिर भत्किएर ९ जनाको मृत्यु भएको छ । भत्किएको मन्दिरको संरचनाभित्र अरु कम्तीमा २१ जना मानिस पुरिएको बताइएको छ ।घटनास्थलमा अहिले ठूलो संख्यामा उद्धार टोली खटाइएको छ ।
हिमाचल प्रदेशमा पछिल्लो केही दिनयता भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरो गएको छ । बीबीसीको समाचार अनुसार पछिल्लो २४ घन्टाको अवधिमा बाढीपहिरोमा परी त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ । मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् ।
पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् । केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रुपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।