
पर्सा | राजन कुमार बानिया | पर्साको पकहामैनपुर गाउँपालिका–२ कटिबलुवामा रहेको ऐतिहासिक श्रीराधाकृष्ण मठ मन्दिर संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। मठको नाममा करोडौँ रुपैयाँ मूल्य पर्ने करिब ६५ देखि ७५ बिघासम्म खेतीयोग्य जमिन रहेको बताइए पनि मन्दिरको भौतिक अवस्था भने दयनीय बन्दै गएको स्थानीयवासीको गुनासो छ।
स्थानीयका अनुसार मठको जग्गाबाट हरेक वर्ष ठूलो परिमाणमा धान उत्पादन हुने गरेको छ। उत्पादित धानमध्ये केही गुठी संस्थान पर्सामा बुझाउने तथा पुजारीको खानपान, दैनिक पूजापाठ र सामान्य व्यवस्थापनका लागि केही धान उपलब्ध गराउने गरिएको बताइन्छ। तर मठमन्दिरको नियमित संरक्षण, संरचना मर्मत तथा सम्पत्तिको व्यवस्थित व्यवस्थापनमा भने पर्याप्त ध्यान नदिइएको स्थानीयको आरोप छ।
स्थानीयवासीका अनुसार करिब आठ वर्षदेखि मन्दिर व्यवस्थापन समिति प्रभावकारी रूपमा सक्रिय छैन। यसअघि दिनानाथ साह तेली व्यवस्थापन समितिको अध्यक्ष रहेको भए पनि पछिल्लो समय प्रभावकारी व्यवस्थापनको अभावमा मठको अवस्था थप जीर्ण बन्दै गएको उनीहरूको भनाइ छ।
मठको संरक्षण तथा व्यवस्थापनका लागि व्यवस्थापन समिति, पुजारी र सम्बन्धित निकायबीच आवश्यक समन्वय हुन नसकेको स्थानीयको गुनासो छ। उनीहरू व्यंग्यात्मक रूपमा ‘जुन योगी आए, मठ उजाड’ भन्ने अवस्था सिर्जना भएको बताउँछन्।
हाल श्रीराधाकृष्ण मठमा नयाँ पुजारीका रूपमा मनिष पाण्डेले दैनिक पूजापाठ गर्दै आएका छन्। तर मन्दिरको भौतिक संरचना, जग्गा तथा अन्य सम्पत्तिको दीर्घकालीन संरक्षणका लागि स्पष्ट र ठोस योजना आवश्यक रहेको स्थानीयवासीको माग छ।
यसैबीच, मठका पूर्वपुजारी भारतीय नागरिक सुरेन्द्र दास बैरागीमाथि मठको सम्पत्तिसम्बन्धी अनियमितता गरेको आरोपसमेत स्थानीयले लगाएका छन्। स्थानीय शिक्षक चन्देश चौहानका अनुसार बैरागीले नेपाली नागरिकता बनाई मठको केही खेतीयोग्य जमिन आफ्नो नाममा गराएको आरोपमा करिब १५ वर्षदेखि अदालतमा मुद्दा चलिरहेको छ। यद्यपि उक्त विषयमा अदालतको अन्तिम फैसला के भएको हो भन्नेबारे आधिकारिक अभिलेख वा सम्बन्धित निकायको धारणा सार्वजनिक रूपमा स्पष्ट हुन सकेको छैन।
शिक्षक चौहानका अनुसार मधेश प्रदेशमा मधेश विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढ्दा कटिबलुवा मठको जग्गा सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराउन स्थानीयवासी तयार भएका थिए। तर राजनीतिक खिचातानीका कारण विश्वविद्यालय सो क्षेत्रमा स्थापना हुन नसकेको उनको भनाइ छ।
स्थानीयका अनुसार मठको केही खेतीयोग्य जमिन अहिले विभिन्न व्यक्तिले आ–आफ्नो तरिकाले जोतभोग गर्दै आएका छन्। यसले मठको वास्तविक आम्दानी, जग्गाको संरक्षण तथा उत्पादनबाट प्राप्त हुने आम्दानीको व्यवस्थापनबारे प्रश्न उठाएको छ।
मठकै जग्गामा रहेको ठूलो पोखरीसमेत संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको स्थानीय संस्था अध्यक्ष उमेश बैठाले बताए। उनका अनुसार मठको जग्गामै प्रहरी चौकीसमेत रहेको छ।
बैठाका अनुसार श्रीराधाकृष्ण मठको जग्गा पकहामैनपुर गाउँपालिकासहित कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका र पोखरिया नगरपालिका क्षेत्रसम्म फैलिएको छ। यति ठूलो सम्पत्ति र ऐतिहासिक महत्व बोकेको धार्मिक स्थलको अवस्था जीर्ण बन्दै जानु दुःखद् भएको उनको भनाइ छ।
स्थानीयवासीले मठको जग्गा तथा सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न, अतिक्रमणबाट जग्गा जोगाउन, लामो समयदेखि निष्क्रिय रहेको व्यवस्थापन समिति पुनर्गठन गर्न तथा मन्दिरको भौतिक संरचना तत्काल मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
करोडौँ मूल्यको सम्पत्ति रहेको ऐतिहासिक धार्मिक स्थल संरक्षणविहीन हुँदा मठको जग्गा अतिक्रमण र सम्पत्तिको दुरुपयोगको जोखिम बढ्न सक्ने स्थानीयको चिन्ता छ। त्यसैले गुठी संस्थान, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायले मठको सम्पत्ति, आम्दानी र जग्गाको अवस्थाबारे यथार्थ विवरण सार्वजनिक गरी संरक्षण र व्यवस्थापनका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।