
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साका चारजना स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सहित ५२ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
छिमेकी जिल्ला बाराका ६ वटा स्थानीय तहको प्रशासनिक नेतृत्वमा समेत ठूलो फेरबदल भएको छ। मन्त्रालयको पछिल्लो निर्णय अनुसार पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई बाराको विश्रामपुर गाउँपालिकामा सरुवा गरिएको छ।
उनको सट्टामा विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ।
यसैगरी, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी र पकहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई गृह मन्त्रालय अन्तर्गत तानिएको छ।
त्यस्तै, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडालाई जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
छिमेकी जिल्ला बाराबाट देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायलाई पर्साको सिमानासँग जोडिएको परवानीपुर गाउँपालिकामा पठाइएको छ भने परवानीपुरमा कार्यरत मुन्ना साह रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ।
निमित्त र अन्य सरुवा प्रक्रियाका कारण पालिकाको प्रशासनिक कामकाज सुस्त भइरहेको अवस्थामा एकैपटक भएको यो फेरबदलले पर्साका गाउँपालिकाहरूको दैनिक सेवा प्रवाह, विकास निर्माणका योजना कार्यान्वयन र आर्थिक प्रशासनलाई थप चुस्त तथा प्रभावकारी बनाउने स्थानीयको अपेक्षा छ।
सरुवा भएका अधिकृतहरूलाई यथाशीघ्र तोकिएको पालिकामा पुगेर कार्यभार सम्हाल्न मन्त्रालयले निर्देशन दिएको छ।