
वीरगञ्ज । नेपाल-भारत सीमानाकामा अवस्थित मितेरी पुल नजिकै दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी सुविधा सम्पन्न चिसो पानीको मेसिन तथा विश्रामस्थल सञ्चालनमा ल्याइएको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र रुङ्गटा वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा मंगलबार आयोजित विशेष कार्यक्रमबीच उक्त सुविधा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो।
सीमा क्षेत्रमा गर्मीका कारण यात्रुहरूले भोग्दै आएको सास्तीलाई ध्यानमा राख्दै सर्वसाधारणको सहजताका लागि यो बस्ने स्थान र खानेपानीको व्यवस्था मिलाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।
सोही उद्घाटन कार्यक्रमको अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ उपस्थित सर्वसाधारणलाई ५०० वटा बिरुवा निःशुल्क रूपमा वितरण गरिएको थियो।
स्थानीय निकाय, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको उक्त कार्यक्रममा वातावरण जोगाउन र यात्रुलाई राहत पुर्याउन यस्ता सामाजिक कार्यले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएकाे छ ।