
नेपाली भाषा, साहित्य तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यले डी.ए.भी. आर.बी. केडिया स्कुल, वीरगञ्जले आयोजना गरेको ‘वाग्मिता–रत्नम्’ प्रथम संस्करण वक्तृत्वकला प्रतियोगिता भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
‘विदेश पलायन कि स्वदेशमै सम्भावना?’ विषयमा केन्द्रित प्रतियोगितामा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरूले विदेश पलायनको बढ्दो प्रवृत्ति, स्वदेशमै उपलब्ध अवसर, रोजगारी सिर्जना, युवा पुस्ताको भूमिका तथा नेपालमै भविष्य निर्माण गर्न सकिने सम्भावनाबारे आफ्ना विचार, तर्क, तथ्य र दृष्टिकोण प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा लिटल फ्लावर सेकेन्डरी स्कुल, दिल्ली पब्लिक स्कुल, मास्कोट एकेडमी, नेपाल कावेरी एकेडमी, सिमरा पब्लिक इङ्लिस स्कुल, गौतम सेकेन्डरी स्कुल, ज्ञानदा एकेडेमी, कादम्बरी एकेडेमी तथा आयोजक डी.ए.भी. आर.बी. केडिया स्कुल गरी नौ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गणेश प्रसाद लाठ तथा विशेष अतिथि रोशनी श्रीवास्तव रहेका थिए। प्रतियोगिताको मूल्याङ्कन लेक्चरर प्रकाश पराजुली र हरि प्याकुरेलले निर्णायकका रूपमा गरेका थिए।
कार्यक्रमको उद्घोषक तथा एंकरका रूपमा प्रवीणा राजभण्डारीले कार्यक्रमलाई प्रभावकारी, शालीन र व्यवस्थित रूपमा सञ्चालन गरेकी थिइन्। उनको उद्घोषण, मञ्चीय समन्वय तथा कार्यक्रम सञ्चालन कौशलले प्रतियोगितालाई थप आकर्षक र मर्यादित बनाउन भूमिका खेलेको आयोजकले जनाएको छ।
त्यस्तै, कक्षा ८ की साइशा यादव र कक्षा १० की सिद्धी सिंहले विद्यार्थी प्रस्तोताका रूपमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग गरेका थिए।
अन्तिम मूल्याङ्कनमा दिल्ली पब्लिक स्कुलकी सान्वी झा प्रथम भएकी छन्। सिमरा पब्लिक इङ्लिस स्कुलकी प्रिस्किना चौधरी द्वितीय, गौतम सेकेन्डरी स्कुलकी सुफियाना खातुन तृतीय, ज्ञानदा एकेडेमीकी प्राथना अधिकारी चौथो तथा नेपाल कावेरी एकेडमीकी श्रेया गुप्ता पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा लिटल फ्लावर सेकेन्डरी स्कुलबाट आन्वी राई र अनुष्का न्यौपाने, दिल्ली पब्लिक स्कुलबाट सान्वी मानन्धर र सान्वी झा, मास्कोट एकेडमीबाट शिक्षा लामा र निकिता साह, नेपाल कावेरी एकेडमीबाट ऋषिका शाह र श्रेया गुप्ता, सिमरा पब्लिक इङ्लिस स्कुलबाट शिक्षा ठाकुर र प्रिस्किना चौधरी सहभागी भएका थिए।
त्यसैगरी, गौतम सेकेन्डरी स्कुलबाट रिजान चापागाइँ र सुफियाना खातुन, ज्ञानदा एकेडेमीबाट शिवम गुप्ता र प्राथना अधिकारी, कादम्बरी एकेडेमीबाट बालकृष्ण शर्मा र श्रियांशी ठाकुर तथा आयोजक डी.ए.भी. आर.बी. केडिया स्कुलबाट वैभव यादव र सान्वी गुप्ताले प्रतियोगितामा सहभागिता जनाएका थिए।
आयोजक विद्यालयका विद्यार्थीसमेत प्रतियोगितामा सहभागी भए पनि निष्पक्षता र पारदर्शिता कायम गर्न उनीहरूको प्राप्ताङ्कलाई अन्तिम प्रतिस्पर्धात्मक मूल्याङ्कनमा समावेश गरिएको थिएन। यस व्यवस्थाले प्रतियोगितालाई थप निष्पक्ष र पारदर्शी बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ।
कार्यक्रम प्रधानाचार्य राकेश मिश्राको मार्गदर्शन, नेतृत्व तथा निरन्तर सहयोगमा सम्पन्न भएको थियो। उनको प्रेरणा तथा संस्थागत सहयोगमा उपप्रधानाचार्य प्रदीप कर्ण, रोशना के.सी., प्रवीणा राजभण्डारी तथा चन्द्रेश्वर साहले कार्यक्रमको योजना, समन्वय, व्यवस्थापन तथा कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पर्दापछाडिको व्यवस्थापनदेखि मञ्चीय प्रस्तुतिसम्मको निरन्तर मेहनत, समन्वय र समर्पणले कार्यक्रमलाई भव्य, व्यवस्थित तथा स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमको सफलतामा निर्णायकमण्डल, सहभागी विद्यालयका शिक्षक–प्रतिनिधि, डी.ए.भी. आर.बी. केडिया स्कुलका शिक्षक–शिक्षिका, प्रशासनिक तथा सहयोगी कर्मचारी र विद्यार्थीहरूको समेत उल्लेखनीय योगदान रहेको थियो।
डी.ए.भी. आर.बी. केडिया स्कुलले आगामी दिनमा यस कार्यक्रमलाई अझ व्यापक, प्रभावकारी र प्रतिष्ठित बनाउँदै निरन्तरता दिने जनाएको छ।
