वीरगंज । ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू ४९ लाख ९५ हजार रुपैयाँ ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कस्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।
उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैङ्क खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्युरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्युरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । ‘तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदै छौँ, कस्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ,’ भनेर पीडित महिलालाई विभिन्न बैङ्क खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्युरोमा जाहेरी परेको रायले बताए ।
प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साको बहुदरमाई नगरपालिका निवासी राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरूबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ । उनीहरूको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिम कार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ ।उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।