वीरगंज । वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ वर्षदेखि थन्किएको डीएपी मल कुहिएको छ । उक्त मलको समयमै व्यवस्थापन हुन नसक्दा त्यसले वरपरका बोटबिरुवा नै मारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदा नै भारतबाट भिजेको मल आएपछि सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन । ३ वर्षअघि सुक्खा बन्दरगाह यार्डको पूर्वी–दक्षिणी भेगमा रेल्वे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन डीएपी मल त्रिपालले ढाकेर अव्यवस्थित रुपले भण्डारण गरिएको थियो । उक्त मल अहिले पूर्ण रुपमा कुहिएर नष्ट भइसकेको छ । लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण वरपरका रुखबिरुवा मरेका छन् ।सुक्खा बन्दरगाह निर्माणको समयमा २ दशक अघि वृक्षारोपण गरेर हुर्काइएका रुखमुनि बिग्रिएको मल थुपार्दा मरेका हुन् ।
गत वर्षको पुस २ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थ मन्त्रालयले पुस ११ गते उक्त निर्णय बारे कृषिलाई औपचारिक रुपमा जानकारी समेत गराएको थियो । त्यसपछि साल्ट ट्रेडिङ्ग र कृषि मन्त्रालयका अधिकारीहरुको संयूक्त टोलीले उक्त मलको निरीक्षण गरेर फर्के पनि मल हटाउने सम्बन्धमा केही कामै गरेनन् । सुक्खा बन्दरगाह भन्सार कार्यालयले भने उक्त मल भिजेर उपयोगविहीन अवस्थामै आएको भन्दै जफत गरेर नष्ट गर्ने निर्णय गरिसकेको थियो ।सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार अर्थ मन्त्रालयले उक्त मल कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई दिने निर्णय गरेकाले आफूले त्यसमा हात हाल्न सक्ने अवस्था नरहेको बताए । ‘एकातिर कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई मल दिने निर्णय भयो,’ उनले भने, ‘अर्को तिर मन्त्रालयले मल लैजानेबारे चासो देखाएन ।’ आफूहरुले व्यवस्थापन गरेपछि कृषिले मागेमा समस्या आउन सक्ने अवस्था रहेकाले हात नहालेको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनले त्यति बेला कुल २५ हजार टन डीएपी मल आयात गरेकोमा त्यसमध्ये पछिल्लो लटको २ वटा रेल्वे ¥याकमा आएको २ हजार ५ सय टनमध्ये आधा मल भिजेर गुणस्तरहीन भएको थियो । स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डीएपी मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो । समुद्री मार्गमै रहँदा २०२० को अगस्ट दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो । जहाजमै रहँदा उक्त मलमा पानी पसेर भिजेको थियो । भिजेको मल सप्लायरले कोलकत्ताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेलै सुक्खा बन्दरगाह भन्सार कार्यालयले बिग्रेको भन्दै जाँचपास गर्न मानेको थिएन ।