वीरगंज । जनकपुरधामस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) क्याम्पसको बसको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । जनकपुरधाम जलेश्वर सडक खण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कूल अगाडि भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो ।
बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा २ क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको डिएसपी गिरीले बताए । ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी भइरहेको छ । दुर्घटना पश्चात चालकलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीयहरू सडक अवरोध गरी केही समयका लागि प्रदर्शन पनि गरेका थिए ।