वीरगंज । छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका शिक्षकमाथि कुटपिट भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– १० जिमुवास्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनजन्य दुव्र्यवहार गरेको भन्दै विद्यर्थीहरु आइतबार आन्दोलित भएका थिए। प्रहरीले जोशिलाई हतकडी लगाएर कार्यकक्षबाट बाहिर ल्याउने क्रममा विद्यालयभन्दा बाहिर एक समूहले उनीमाथि निर्धात कुटपिट गरेको हो।
प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको भन्दै विद्यालय, शिक्षकशिक्षिका र केही स्थानीयले उक्त कार्यको भत्र्सना गरेका छन्। कसैले आरोप लगाएकै भरमा प्रमाणित नहुँदै कुटपिट भएपछि उनीहरुले सो कार्यको विरोध गरेका हुन्। विद्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि कुटपिट हुनु निन्दनीय भएको जनाएको छ। विद्यालय हाताभन्दा १५० मिटर पर रहेको प्रहरीको भ्यानसम्म भिडले लखेटिलखेटी कुटपिट गर्दा समेत प्रहरी मुकदर्शन बनेको विद्यालयको आरोप छ। विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषिउपर कार्बाहीको माग गरिएको छ।
विद्यालयका प्रधानाध्यापक कृष्णसिंह बोहराले एक छात्राले आरोप लगाउँदैमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि अमानवीय हिसाबले कुटपिट गरेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीको बैठकले विद्यालयमा पठनपाठनको वातावरण नहुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। प्रअ बोहराले दुवै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताएका छन्। घाइते जोशीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको बताइएको छ।
