वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका– २ बडका टिहुकीमा ऋण लिएको भन्दै साहुले कुटिएकी एकल महिला र उनका छोरालाई प्रहरीले पक्राउ गरेको घटना बाहिरिएको छ। एकल महिला तारादेवीले स्थानीय रामेश्वर भन्ने भोला साह कानुसँग ६ लाख ऋण लिएको र ऋणकै साटाे कानुले ६ कट्ठा जमिन लेख्न दिएको दबाब नमानेपछि शरीरमा नीलडाम हुने गरी कुटपिट गरेर आमाछोरालाई प्रहरीमा थुन्न लगाएको घटना बाहिरिएको हो। आइतबार बिहान १० आमाछोरालाई जग्गा पास गर्न दबाब दिएको र नमानेपछि साहु कानुसहित उनका व्यक्ति प्रदीप साह कानु, भगत साह कानु र सेठ साह कानुलगायतले तारादेवीलाई निर्घात कुटपिट गरेका हुन्। उनको शरीरभरि नीलडाम हुने गरी कुटपिट गरेर प्रहरीमा बुझाएको उनीहरूले बताए। सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा उनीहरूले पत्रकार सम्मेलनको आयोजना गर्दै साहु कानु र उनका व्यक्तिले आमाछोरालाई कुट्दै इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएकाे बताए।
६ लाख ऋणको २१ लाखको कागज बनाएर प्रहरीमा निवेदन
‘६ लाख ऋणको बदलामा साहुले २१ लाखको कागज बनाएर पूरै ६ कठ्ठा घडेरी नै नामसारी गर्न दबाब दिइरहेका छन्,’ तारादेवी भन्छिन्, ‘मैले त्यति रकमबराबरको खेतको जग्गा दिन्छु भन्दा नमानेर उनीहरूले निरन्तर कुटपिट गरे।’६ लाख ऋण लिएको र सोबापत ६ कट्ठा जमिन आफ्नो नाममा लेख्न दबाब दिएपछि यसको विरोधमा शान्तिसुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी गरेको उनले बताइन्। निवेदन दिएको भए पनि कुटिनुपरेको र प्रहरी–प्रशासनले आफ्नो सुरक्षामा चासो नदेखाएको उनले आरोप लगाइन्। उनले ऋण लिएबापत जग्गा नाममा गरिदिन निरन्तर दबाब आएपछि प्रहरी प्रशासनमा गुहार गरेकी थिइन्। तर, त्यहाँबाट पनि न्याय नपाएको र साहुले आफूसहित छोरालाई बारम्बार प्रताडित गर्दै आएको उनले गुनासो गरिन्।
बिहान पक्राउ परेका आमाछोरा राति छुटे
घटनापछि इलाका प्रहरी कार्यालय, पोखरियाले कुटपिट गर्ने पक्षलाई केही नगरेको, कुटिएका आमा–छोरालाई १० घन्टासम्म नियन्त्रणमा लिएको उनीहरूले बताएका छन्। उनीहरूका अनुसार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले प्रहरी निरीक्षक मोहनविक्रम केसीको अगाडि छलफल गराई महिला र उनको छोरालाई आइतबार राति थुनामुक्त गरेका थिए। इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले कुटपिटबारे पालिका अध्यक्षको अगाडि थुनामुक्त गरेको बताए। उनले महिलाले कागज गरेर रकम लिएको निवेदनको आधारमा केही घन्टा नियन्त्रणमा राखिएको र छलफलपश्चात् छोडिएको बताए। प्रहरी निरीक्षक केसीले कुटिएका पीडितलाई घाउ जाँच गर्न वीरगन्ज गएको र उजुरी गरे कुट्नेमाथि कारबाही हुने बताए। यता प्रहरीले पीडकको मिलेमतोमा एकल महिलालाई प्रताडित गरेको गाउँपालिका अध्यक्ष गुप्ताले बताए।