वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षमा उत्तरपुस्तिका नै हेरेफेर गरेर उत्तीर्ण गराउने गिरोहका दुई जना बुधबार रङ्गे हात पक्राउ परेका छन् । बुधबार एक विद्यार्थीलाई उत्तीर्ण गराउनका लागि परीक्षामा उत्तरपुस्तिका (कापी) साटेको आरोपमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुखसहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले क्याम्पसको परीक्षा शाखाका पुर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका प्रमुख विनोद स्वर्णकारलाई उत्तरपुस्तिका साट्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरेको हो । ठाकुरराम क्याम्पसमा वर्षौदेखि परिक्षा शाखा प्रमुखका रुपमा कार्यरत यादव , एक महिनापहिले मात्र अवकाश लिएका थिए । हाल उनि वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसको परिक्षा शाखा प्रमुखमा कार्यरत छन् । ठाकुरराम क्याम्पसको बिबिएस दोश्रो वर्षको परीक्षा केन्द्र वीरगन्जकै त्रिजुद्ध माविमा तोकिएको छ ।
बुधबार बिहान परीक्षा सकिने बेलामा यादवले एक विद्यार्थीले दिदै गरेको परीक्षाको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट लेखेर ल्याइएको अर्को उत्तरपुस्तिका राख्न भन्दै परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई दिदै गरेको भेटिएपछि यादव र स्वर्णकार दुवै जनालाई रङ्गेहात पक्राउ गरिएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विदूर शिवाकोटीले बताए । शिवाकोटीका अनुसार ,त्रिजुद्ध माविको परीक्षा केन्द्रमा ठाकुरराम क्याम्पसको परीक्षा चलिरहेको र त्यहा बाहिरबाट लेखेर ल्याइएका उत्तरपुस्तिका पुस्तिका साट्ने चलखेल भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सूचनाको आधारमा बुधबार बिहान प्रहरी निरीक्षक शिवाकोटी नेतृत्वको प्रहरी टोलीले खटिएको थियो । क्याम्पसमा कार्यरत परीक्षा शाखाका बहालवाला कर्मचारी,पूर्व कर्मचारी, प्राध्यापक र केहि विद्यार्थी संगठनका नेताहरुको मिलोमतोमा विद्यार्थीसंग रकम लेनदेन गरी परिक्षामा उत्तरपुस्तिका नै साटेर उत्तीर्ण गराउने धन्दा वर्षौदेखि चल्दै आएको छ । क्याम्पसमै कार्यरत एक कर्मचारीले भने,‘ यो धन्दा वर्षौदेखि चल्दै आएको छ । एउटा विषयको परिक्षामा पास गराउन विद्यार्थीसंग ३० देखि ३५ हजार रुपैयाँ असुली गरिन्छ ।
परिक्षामा वास्तविक परीक्षार्थीको सट्टा नक्कली परीक्षार्थीलाई बसाएर लेख्न पनि लगाइन्छ ।अनि कापी साट्नेपनि गरिन्छ । यदि खोज्दै जाने हो भने यो धन्दामा क्याम्पसका एकसे एक व्याक्तिहरुको चरीत्र पर्दाफास हुन्छ ।यहि धन्दा बन्द हुने भयो भनेर नै दुई महिना पहिले ठाकुरराम क्याम्पसको परीक्षा केन्द्र अन्य जिल्लामा तोकिएपछि विद्यार्थी संगठनहरुले आन्दोलनपनि गरेको ती कर्मचारीले बताए । बुधबार परिक्षा केन्द्रबाट पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । दुवै जना विरुद्ध शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइने जानकारीपनि उनले दिए । शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।
