वीरगंज । वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे (चक्के) सवारी साधनको प्रवेशमा लगाइएको रोकलाई फुकुवा गरिएको छ । मङ्गलवार बिहानदेखि नेपाली नम्बर प्लेट भएको चार चक्के सवारी साधनलाई रक्सौल प्रवेश गर्न भारतीय महावाणिज्य दूतावासबाट विशेष पास लिनुपर्ने नियम लगाइएकाेमा त्यसलाई बुधवारदेखि भने हटाइएको हो ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक अधिकारीका अनुसार रक्साैलस्थित भारतीय कस्टममा रहेका कर्मचारीहरूको त्रुटिका कारण मङ्गलवार एक दिनका लागि नेपाली नम्बर प्लेट सवारीसाधनलाई रक्साैल प्रवेशमा रोक लगाइए पनि बुधबारदेखि भने त्यसलाई सच्चाइएको छ । नेपाल नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेश गर्न कुनै पनि किसिमको पास अथवा अनुमति लिनु नपर्ने उनले स्पष्ट पारे । “कस्टमका एक जना कर्मचारीले गलत सूचना दिँदा केही समय अन्योल भएको हो । अहिले निर्बाध रूपमा सवारीसाधन प्रवेश गर्न पाइरहेका छन् ।
दूतावास पुगेर विशेष पास लिनुपर्दैन,’ ती अधिकारीले भने । रक्सौलमा रहेको भारतीय कस्टमका सुरक्षा अधिकारीहरूले मङ्गलवार नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई रक्सौल प्रवेशका लागि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासबाट पास लिनु बताएपछि अन्योल सृजना भएको थियो । दूतावासको पास नलिएका नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई भारतीय कस्टममा खटेका सुरक्षाकर्मीहरूले मङ्गलवार रक्साैल प्रवेश पनि गर्न दिएका थिएनन् । यद्यपि अहिले नेपालबाट रक्सौल तर्फ गएका चार चक्के सवारीसाधनले सहजै प्रवेश गर्न पाएका छन् ।