वीरगंज । मधेश प्रदेशमा श्रृंखलाबद्ध रूपमा भइरहेको प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको इन्सेकले जनाएको छ । साउन १५ गते दिउँसो मात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असइ राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाले प्रहरी ज्यादतीको निरन्तरता झल्कन्छ ।
लहान,सिरहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराज स्थित जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई असइ महतोले कुटपिट गरेको पीडितले बताएका छन् । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते भएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भइरहेको छ । इन्सेकका अध्यक्ष कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरी उपर कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिवद्धता कायम रख्न हामी सरकार समक्ष जोडदार माग गरिएको छ ।
यसैबीच, पोखरेलमाथि दुव्र्यवहार गर्दै कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक राजेश्वर महतोमाथि कारबाही प्रक्रिया थालिएको छ । असइ महतोलाई प्रहरी नियमावली २०७१ संशोधनसहित वमोजिम निलम्बनको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा सिफारिस गरी पठाइएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । कुटपिटबाट घाइते भएका पत्रकार पोखरेल उपचारपछि मंगलबार डिस्चार्ज भएको महासंघ सप्तरीका सचिव आरएन विश्वासले जानकारी दिए ।