वीरगंज । वीरगन्जकाे सिमावर्ती भारतीय बजार रक्साैलमा नेपाली चार पाङ्ग्रे (चक्के) सवारी साधनकाे प्रवेशमा भारतले राेक लगाएकाे छ । यसअघि रक्साैलमा निर्वाध रुपमा आउजाउ गर्दै आएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारी साधनलाई मंगलबारदेखि भने प्रवेशमा राेक लगाइएकाे हाे । रक्सौलमा रहेकाे भारतीय कस्टमका सुरक्षा अधिकारीहरुका अनुसार , अब रक्साैल प्रवेशका लागि नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनले वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासबाट पास लिनु पर्नेछ । दुतावासकाे पास नलिएका नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनहरु भने रक्सौल प्रवेश गर्न नपाउने भारतीय कस्टमका सुरक्षा अधिकारीहरुले बताएका छन् । याे नियम मंगलबारदेखि लागु गरिएको उनिहरुले बताएका छन् ।
मंगलबार वीरगन्ज हुँदै भारतीय बजार रक्सौल जान खोजेका सबै चार पाङ्ग्रे सवारी साधन वीरगन्ज भन्सार गेटबाटै फिर्ता भएका थिए । भारतीय कस्टमका सुुरक्षाकर्मीहरुले भने, ‘रक्सौल आउन चाहने चार पाङ्ग्रे सवारीसाधनका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्यदुतावासबाट पास लिएर आएमात्रै रक्सौल छिर्न दिने व्यवस्था गरिएको छ ।
भारतले याे नियम लगाएका कारण अब रक्साैल बजारमा किनमेल वा अन्य कामका लागि चार पाङ्ग्रे सवारीसाधनमा जाने नेपालीहरुलाई सास्ती भएकाे छ । नेपाली नम्बर प्लेटका चार पाङ्ग्रे सवारीसाधनलाई पास बिना प्रवेशमा राेक लगाईएपनि माेटरसाइकलकाे हकमा भने याे नियम लागु नगरिएको भारतीय कस्टमका सुरक्षा अधिकारीले बताएका छन् । भारतीय नम्बर प्लेटका सवारीसाधनलाई वीरगन्ज प्रवेशका लागि वीरगन्ज भन्सार कार्यालयमा इन्ट्री गर्नु पर्ने नियम भने पहिलेदेखि नै लागु छ ।