वीरगंज । वीरगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भारतबाट माछाको आयात बढेको छ । पशु क्वारेन्टाइन कार्यालय पर्साका अनुसार गत आव २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६ सय ४८ मेट्रिक टन माछा आयात भएको छ । अघिल्लो आव २०७७/७८ मा भने यो नाकाबाट ५० मेट्रिक टन माछा भित्रिएको थियो ।
नेपालमा विशेषगरी भारतबाट माछा आयात हुँदै आएको छ । स्वदेशमै संघ तथा प्रदेश सरकारले माछा जोन घोषणा गरेर किसानलाई माछापालनमा प्रोत्साहित गर्न अनुदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, सरकारको योजनाअनुसार माछा आयात भने कम हुन सकेको छैन । पशु क्वारेन्टाइन कार्यालयका अनुसार बोनलेस र एकोरियम माछाको आयात पनि बढेको छ । अघिल्लो आवमा यो नाका हुँदै भारतबाट २६ मेट्रिक टन बोनलेस माछा आयात भएको थियो । गत आवमा भने ५ सय ४६ मेटन बोनलेस माछा आयात भएको छ ।
अघिल्लो आवमा ८ हजार ३ सय ५ वटा एकोरियम माछा आयात भएकोमा गत आवमा झन्डै ५ लाख १९ हजार ४ सय ९ वटा आयात गरिएको छ । घर तथा व्यावसायिक प्रतिष्ठानमा सजाउन पालिने यस्तो माछाका लागि भारतमै निर्भरता देखिन्छ । विगतमा भारतको आन्ध्र प्रदेशबाट आलो माछा ल्याइने गरेकोमा हाल भने कोलकाताबाट आयात भइरहेको छ । कोलकातामा भारतको क्वारेन्टाइन कार्यालय रहेकाले आयातकर्ताले त्यहाँबाट उत्पत्ति प्रमाणपत्र ल्याउन सहज हुन्छ । कार्यालय प्रमुख डा. हरेराम यादवका अनुसार अघिल्लो आवमा मासुमाछा आयात गर्दा भारतीय क्वारेन्टाइनको उत्पत्तिको सिफारिस र स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि आयात घटेको थियो । साभार : कान्तिपुर