वीरगन्ज | पछिल्लो वर्ष ‘८३’ पछि रणवीर सिंहका लगातार तीन चलचित्र फ्लप भएको छ । उनको पछिल्लो चलचित्र ‘सर्कस’ बक्स अफिसमा जम्न सकेन । चलचित्रले पहिलो हप्ताको अन्त्यमा मात्र २० करोड भारुको आम्दानी गर्न सकेको छ ।
रणवीरको चलचित्र फ्लप हुन थालेपछि ट्रेड एनालिस्टहरु दुई समूहमा विभाजित बनेका छन् । एक समूह रणवीरको ‘स्टार पावर’ घटेको बताउँछन् भने दोस्रो समूह रणवीरको खराब समय चलिरहेको र चाँडै आफ्नो लयमा फर्कने बताउँछन् ।
ट्रे एनालिस्ट तरण आदर्श भन्छन्, ‘रणवीरले गुन्डे, पद्मावत, बाजीराव मस्तानीजस्ता हिट चलचित्र दिएका छन् । यी चलचित्रपछि सिम्बा र गली ब्वाईजस्ता हिट चलचित्रहरू आए । तर, त्यसपछि ८३ फ्लप भयो भने जयेशभाई जोरदारको अवस्था त्योभन्दा खराब रह्यो । सर्कसले पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । रणवीरका पछिल्ला तीन शुक्रबार राम्रो रहेन । ८३ मानिसहरूलाई वृत्तचित्र जस्तो लाग्यो, जयेशभाई जोरदारलाई कसैले रुचाइएन भने सर्कस राम्रो चलचित्र बनेको थिएन । दर्शकले सर्कसको ट्रेलरबाट नै निराश थिए । दर्शकलाई शायद रणवीरको सिम्बावाला छवि चाहिएको छ ।’
तरण अगाडि भन्छन्, ‘अर्को कुरा रणवीर ओभर एक्सपोज्ड भएका छन् । उनले आफूलाई फ्यानका सामु केही गोपनीयता राख्नुपर्छ । रनबीर कपुरलाई हेर्नुभयो भने ब्रम्हास्त्रपछि उनलाई देखिएकै छैन । रणवीरको फेसनले समस्या खडा गरेको छ । मानिसहरू स्टारलाई हेर्न चाहन्छन्, कमेडियनलाई होइन ।’