
वीरगंज | काठमाडौं उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय काठमाडौंले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको छ । सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको हो ।
कार्यालयका अनुसार चक्रपथभित्रका सडकको मर्मतलाई प्राथमिकताका साथ अघि बढाएपछि अहिले चक्रपथबाहिरका सडकमा काम केन्द्रित गरिएको छ । सवारीसाधनको चाप कम हुने रातको समयसमेत उपयोग गर्दै मर्मत कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।
सोमबार साँझ नारायणगोपाल चोक–बुढानीलकण्ठ सडकखण्डअन्तर्गत गोल्फुटार, हात्तीगौंडालगायत क्षेत्रमा सडकका क्षतिग्रस्त भाग मर्मत गरिएको थियो । सडकमा खाल्डाखुल्डी देखिएपछि प्राविधिक टोलीसहितको एम्बुलेन्स तत्काल सम्बन्धित स्थानमा पुगेर मर्मत गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
‘सडक एम्बुलेन्स’मार्फत काठमाडौंका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। कार्यालयका अनुसार एम्बुलेन्स सेवा वर्षभरि ३६५ दिन चौबीसै घण्टा सञ्चालन गर्ने योजना छ ।
एम्बुलेन्समा खाल्डो काट्ने, हावा तथा पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कनेलगायत सडक मर्मतका लागि आवश्यक उपकरण जडान गरिएको छ । मर्मत कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ ।
सडक मर्मत आवश्यक पर्ने स्थानको पहिचान र जानकारी संकलनका लागि कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु’ नामक मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ । एपमार्फत प्राप्त जानकारीका आधारमा सम्बन्धित टोलीलाई परिचालन गरी तत्काल मर्मत कार्य अघि बढाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
‘सडक एम्बुलेन्स’ परिचालन भएपछि सडकमा आकस्मिक रूपमा देखिने खाल्डाखुल्डी तत्काल मर्मत गर्न सहज हुने अपेक्षा गरिएको छ । काठमाडौंलाई पाइलट परियोजनाका रूपमा लिएर सुरु गरिएको यो अभियान प्रभावकारी भएमा देशका अन्य सडक डिभिजनमा समेत विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
