

पर्सा । सरकारी कार्यालयमा अवाञ्छित प्रभाव जमाउन खोज्दै कार्यालय प्रमुखमाथि दुर्व्यवहार र धम्की दिएको गम्भीर आरोपमा लेखनदास रामाशिष साह गोढ पक्राउ परेका छन्।
पर्साको पोखरियास्थित नापी कार्यालयका प्रमुख बब्लु पाण्डेमाथि अभद्र व्यवहार र गैरकानुनी दबाब सिर्जना गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका गोढलाई हाल इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।



केही दिनअघि नापी कार्यालय पुगेका गोढले आफू स्थानीय बासिन्दा तथा पूर्व लेखापढी व्यवसायी सङ्घको अध्यक्ष भएको भन्दै कार्यालय प्रमुख पाण्डेमाथि नियमविपरीत काम गर्न तीव्र दबाब दिएका थिए। आफू बसोबास गर्ने वडामै कार्यालय रहेकाले आफ्नै तजविज र इच्छाअनुसार काम हुनुपर्ने हठ राख्दै उनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावित पार्ने चेष्टा गरेका थिए।
कानुनी प्रक्रिया र तोकिएको मापदण्डअनुसार मात्रै काम हुने अडान कार्यालय प्रमुख पाण्डेले लिएपछि उत्तेजित बनेका गोढले गालीगलौज गर्दै अभद्र व्यवहार र धम्कीमा उत्रिएको आरोप छ।
नापी कार्यालयजस्तो संवेदनशील निकायमा कानुनी प्रमाण र आधिकारिक अभिलेखका आधारमा मात्र सेवा प्रवाह हुनुपर्नेमा व्यक्तिगत प्रभावका आधारमा काम गराउन खोज्नु सार्वजनिक प्रशासनमाथिको सीधा हस्तक्षेप हो। गोढमाथि सोझा सेवाग्राहीहरूसँग काम गराइदिने बहानामा मोटो रकम असुल्ने र धाकधम्की दिएर कानुनविपरीत काम गराउन खोज्ने गरेको गम्भीर आरोपसमेत लागेको छ।
स्थानीय शक्ति र पहुँचको आडमा सरकारी अड्डालाई आफ्नो इशारामा चलाउन खोज्ने यस्ता गतिविधिले निजामती प्रशासनको मनोबल गिराउनुका साथै सर्वसाधारणमा सरकारी सेवाप्रति असन्तोष पैदा गर्ने विश्लेषकहरू बताउँछन्।
पहुँच र प्रभावका आधारमा कर्मचारीलाई धम्क्याउने र गैरकानुनी काम गराउन खोज्ने प्रवृत्तिविरुद्ध प्रहरीको यो कदमलाई चासोका साथ हेरिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पोखरियाले अनुसन्धान सुरु गरिसकेको छ।
प्रहरीले निष्पक्ष अनुसन्धान गरी सेवाग्राहीसँगको सम्भावित ठगी, रकम असुली र राष्ट्रसेवक कर्मचारीमाथि भएको अभद्र व्यवहारको सत्यतथ्य बाहिर ल्याउनुपर्ने देखिन्छ। दोषी ठहरिएमा गोढविरुद्ध प्रचलित कानुनबमोजिम कडा कारबाही हुनुपर्ने र सरकारी निकायमा बिचौलिया तथा अवाञ्छित तत्वको दबदबा अन्त्य हुनुपर्ने स्थानीयको माग छ।
साथै उनी सँगै हाकिम धमक्याउन उनका सहयोगीको रूपमा सधैं रहेका निजका छोरा विनय साह गोढ फरार रहेका छन् । निजको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


