
वीरगंज | बाराको सिमराबाट ११ वर्षीया एक बालिका करिब तीन महिनादेखि बेपत्ता भएकी छन्।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ११ वर्षीया सनाया खातुन गत असार १७ गतेदेखि बेपत्ता भएकी हुन्।
उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा छोरी बेपत्ता भएको जानकारी गराएकी हुन्।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार बालिका असारको दोस्रो सातादेखि नै बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन परेको थियो।प्रहरीका अनुसार सनाया यसअघि पनि बेपत्ता भएकी थिइन्।त्यसबेला प्रहरीले खोजी गरी उनलाई परिवारको जिम्मा लगाएको थियो।
यसपटक पनि बालिका लामो समयदेखि बेपत्ता रहेको जानकारी प्राप्त भएपछि प्रहरीले पुनः खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।प्रहरीले बालिकाको अवस्थाबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।
