वीरगंज । विश्वप्रसिद्ध फिल्मकर्मी एवं निर्देशक जाँ लुक गोडाड ९१ वर्षको उमेरमा निधन भएको छ । स्विजरल्यान्डमा मंगलबार उनको निधन भएको हो । एएफपीका अनुसार स्विजरल्याण्डस्थित उनको आफ्नै निवासमा निधन भएको हो ।
गोडाड बिरामी भने थिएनन् । यद्यपि उनको निधनका लागि सहायता गरिएको (स्वेच्छिक मृत्यु) उनको परिवारका सदस्यहरुले बताएका छन् । स्वेच्छिक मृत्युवरण स्विजरल्याण्डमा कानुनी रुपमा वैध मानिन्छ । गोडाड १९५० को दशकमा सिनेमा क्रान्ति ल्याउने फिल्म निर्माण आन्दोलन नोबेल भ्यागका प्रमुख अभियन्तासमेत रहेका थिए । फिल्मलाई कलासँग जोडेर व्याख्या गर्ने प्रसिद्ध फिल्मकर्मीमध्ये एक थिए गोडाड ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार बिरामी नभए पनि शारीरिक रुपमा अशक्त भएपछि गोदार्डले स्वेच्छिक मृत्यु रोजेका थिए । उनको निधनमा दुखी बन्दै फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले एक राष्ट्रिय गहना गुमाएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति म्याक्रोंले ट्विट गर्दै गोडाडलाई सिनेमाका मास्टर भन्दै उनको निधनमा दुख व्यक्त गरेका छन् । सन् १९३० मा जन्मिएका गोडाड स्विजरल्याण्डको जेनेभामा हुर्किएका थिए । १९४९ मा स्कुले शिक्षा सकेर पेरिस फर्केपछि गोडाड वौद्धिक सिने क्लबको सुरुवात गरेका थिए । साथै उनी सर्ट फिल्मको श्रृंखला निर्माणसँगै चर्चामा आएका थिए ।