

वीरगंज | कर्णाली प्रदेशको जीवनरेखाका रूपमा रहेको कर्णाली राजमार्ग यात्राका लागि अझै जोखिमपूर्ण बनेको छ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी गत असारमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ सांगेतडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खस्यो। दुर्घटनामा परी एक जना घटनास्थलमै मृत भेटिए भने कैलालीको चिसापानीनजिकै कर्णाली नदी किनारमा एक पुरुष र एक महिलाको शव भेटियो।



राजमार्गमा भएका यस्ता दुर्घटना नयाँ होइनन्। २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले तथा कालीकोट जिल्लाको सेराबाडास्थित बित्तामोडमा २०६९ मा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएका थिए। गत वर्ष जेठ दोस्रो साता कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबीस नगरपालिका-२ सिस्नेडाँडामा मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो भने ३३ जना घाइते भएका थिए। यस्तै गत चैत ३ गते मुड्केचुला गाउँपालिका-३ को काङ्ग्रे खोलामा बा १७ च ३९७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सल्मान रोकाया घटनास्थलमै मृत फेला परेका थिए। उनी २३ वर्षका थिए।
यसअघि पनि राजमार्गमा ठुला दर्जनौं दुर्घटना भएका देखिन्छन्। सडकको कमजोर अवस्था, तीव्र गति, ब्रेक फेल, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, चालक अनुमतिपत्रबिना सवारी सञ्चालन र जोखिमपूर्ण ओभरटेक दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार कर्णालीमा हुने कुल सवारी दुर्घटनामध्ये करिब ६५ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेका छन्।
त्यसबाहेक ब्रेक फेल, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, चालक अनुमतिपत्रविना सवारी सञ्चालन, कमजोर सडक अवस्था तथा जोखिमपूर्ण ओभरटेक दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्। कर्णाली प्रदेश ट्राफिक व्यवस्थापनको तथ्यांकअनुसार आव २०७९/८० मा कर्णालीमा ५ सय ४९ सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा १ सय ३१ जनाको मृत्यु भएको थियो भने ३ सय ३८ जना गम्भीर घाइते भएका थिए।
आव २०८०/८१ मा दुर्घटनाको संख्या दोब्बरजस्तै बढेर १ हजार ८६ पुगेको थियो। यद्यपि मृत्यु संख्या १ सय १२ मा सीमित रह्यो भने ४ सय ७२ जना गम्भीर घाइते भएका थिए। आव २०८१/८२ मा ९ सय ६८ दुर्घटनामा १ सय ३९ जनाले ज्यान गुमाए भने ७ सय २ जना गम्भीर घाइते भए। चालु आव २०८२/८३ को जेठ मसान्तसम्म मात्र प्रदेशभर १ हजार १ सय १५ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ६५ जना घाइते भएका छन्। कर्णाली प्रदेशका १० जिल्लामध्ये कुल दुर्घटनाको ५८ प्रतिशत हिस्सा सुर्खेतमा रहेको तथ्यांकले देखाएको छ।
मृत्यु दरको हिसाबले पनि सुर्खेत अग्रस्थानमा छ। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये मोटरसाइकलको हिस्सा सबैभन्दा बढी अर्थात् ४७ प्रतिशत रहेको छ। त्यसपछि जिप-कार, अटो-टेम्पो, ट्र्याक्टर, माइक्रोबस, बस र ट्रक क्रमशः रहेका छन्। समयगत विश्लेषणले दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म दुर्घटना बढी हुने देखाएको छ। चालक उमेर समूहमा २६ देखि ४० वर्षका चालक सबैभन्दा बढी दुर्घटनामा संलग्न छन् भने १७ देखि २५ वर्ष समूह दोस्रो स्थानमा रहेको छ। हाल कर्णाली प्रदेशमा ४१ हजार ३ सय ८२ सवारीसाधन दर्ता छन्। करिब ९ हजार ७ सय १५ किलोमिटर सडक सञ्जालको व्यवस्थापनका लागि जम्मा २ सय २० ट्राफिक प्रहरी परिचालन गरिएका छन्।
यसअनुसार एक ट्राफिक प्रहरीले औसत ४५ किलोमिटर सडकको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको छ। सडक डिभिजन सुर्खेतका प्रमुख विवशबाबु सदादेवका अनुसार सडक सुरक्षालाई प्राथमिकता दिँदै आगामी आवका लागि बजेट उल्लेख्य रूपमा बढाइएको छ। चालु वर्षको एक करोड रुपैयाँबाट बढाएर आगामी वर्ष आठ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेटबाट दुर्घटना जोखिमयुक्त क्षेत्रमा क्रयास ब्यारियर, रोड मार्किङ, ट्राफिक लाइट, राउन्डअबाउटलगायत सुरक्षा संरचना निर्माण गरिनेछ। साथै कर्णाली राजमार्ग स्तरोन्नति, हर्रे-बाङ्गेसिमल तथा छिन्चु-जाजरकोट सडकखण्डमा सुरक्षात्मक पूर्वाधार निर्माण र वीरेन्द्रनगर चारलेन सडकमा ट्राफिक लाइट सञ्चालनलाई प्राथमिकता दिइएको छ।
यता चालु आवको जेठ मसान्तसम्म ६ हजार ८ सय २५ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट ४ लाख ४५ हजार ६ सय ८३ जना लाभान्वित भएका छन्। जुम्लादेखि २ सय ३२ किमीको यात्रा मात्र ६ घण्टामा पूरा हुनुपर्छ। तर यात्रु अहिले २४ घन्टासम्मको यात्रा गर्न बाध्य छन्। कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सडकमा आव २०७६/७७ सालमा ओटासिल प्रविधिको कालोपत्र गरिएको थियो। सरकारले विश्व बैंकको एक अर्ब रुपैयाँ सहयोगमा सुर्खेतबाट खिड्कीज्युलासम्म १ सय २६ र खिड्कीज्युलादेखि जुम्लासम्म १ सय ७ किलोमिटर सडकमा कालोपत्र गरेको थियो। अहिले सडकको करिब ८० प्रतिशत कालोपत्र उप्किएको छ।
राजमार्गमा मर्मतका लागि तीन आवमा झन्डै ६७ करोड रुपैयाँ खर्च भएको छ। सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाका अनुसार चालु आवमा २४ करोड, गत आवमा २१ करोड र आव २०८०/८१ मा ३१ करोड रुपैयाँ सडक मर्मतका लागि खर्च भएको हो। ‘जताततै पहिरोको जोखिम छ, अधिकांश बजेट पहिरो रोक्दैमा सकियो’, सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। कार्यालयका अनुसार, ‘पहिलो वर्ष काम गर्यो, अर्को वर्ष फेरि पहिरो आउँछ, अर्को वर्ष त्यही पहिरोमा फेरि काम गर्नुपर्ने बाध्यता छ।’
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो। चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडकको जिम्मा दिएको थियो। नेपाली सेनाले २०६३ चैत ३० गते ट्रयाक खोलेको थियो। कर्णाली राजमार्गमा सडक सुरक्षाका लागि निर्माण गरिएका अधिकांश ‘सेफ्टी बार’ जीर्ण बनेका छन्। राजमार्गको अप्ठ्यारो र भिरालो ठाउँमा डिलबाट सिधै कहालीलाग्दो भीर र कर्णाली नदी देखिने हुँदा ‘सेफ्टी बार’ लगाउँदा यात्रुले पनि सुरक्षित महसुस गर्ने १६ वर्षदेखि सुर्खेत-जुम्ला रुटमा गाडी चलाइरहेका चालक भीमबहादुर शाहीले बताए। ‘अचेल धेरै ठाउँमा बार भाँचिएकोले हामी त डराउँछौँ’, उनले भने, ‘झन् यात्रु त आत्तिने नै भए।’
सुर्खेतका दिनेश सारूले कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा गाडी चलाउन थालेको १३ वर्ष बित्यो। ट्र्याक खुलेदेखि साना-ठुला गरी दर्जन बढी गाडी उनले गुडाइसकेका छन्। तर, उनी यो बाटोमा गाडी गुडाउन डर लाग्ने बताउँछन्। ‘एक लेनको साँघुरो सडक ठाउँ-ठाउँमा भत्केको छ, डरैडरले चलाउनुपर्छ’, उनी भन्छन्, ‘गाडीमा सवार यात्रु डराउँदा मलाई पनि डर लाग्छ, राजमार्ग सुरक्षित छैन।’
सुर्खेत-जुम्ला खण्डमा बस चलाउँदै आएका उनीजस्तै अरू चालक पनि ठुला गाडी सञ्चालनका लागि राजमार्ग सुरक्षित नभएको तर्क गर्छन्। राजमार्गलाई जोड्दै, सयौं स्थानमा काटिँदै गरेका नयाँ ग्रामीण कृषि सडकले दुर्घटनाको जोखिम निम्त्याएको उनीहरू बताउँछन्। ‘सडक जथाभावी काटिएका छन्, नयाँ सडक काट्दा राजमार्गमै माटो र ढुंगा थुपारिदिन्छन्। कति दिन बाटोमै बास बस्नुपर्छ’, ‘सडक प्रतिदिन जीर्ण बन्दै छ’, पेट पाल्न दुर्घटनाको जोखिम मोलेरै भए पनि गाडी चलाउनुपर्ने उनी बताउँछन्।’ कर्णाली प्रदेशमा आव २०८२/८३ सम्म कुल ३ सय ४५ किमी सडक कालोपत्रे भएको छ। कर्णालीका १० वटा जिल्लामा ३ सय ४५ किमी सडक कालोपत्रे भएको हो।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार आव २०८१/८२ मा २ सय ४९ किमी सडक कालोपत्रे भएकोमा आव २०८२/८३ मा ९६ किमी थप भई कुल ३ सय ४५ किमी सडक कालोपत्रे भएको छ। सुर्खेतमा २९ किमी सडक कालोपत्रे भएको छ। सल्यानमा २१ किमी, दैलेखमा १७ किमी, जुम्लामा २.५ किमी सडक कालोपत्रे भएको छ। हुम्लामा ०.२ किमी, डोल्पामा १.२ किमी, जाजरकोटमा ०.७ किमी, मुगुमा ०.९ किमी र रुकुमपश्चिममा १.७ किमी सडक कालोपत्रे भएको छ।
यसैगरी हालसम्म ८ सय २२ किमी सडक ग्राभेल भएको छ,भने तीन हजार ४ सय १७ किमी माटे सडक निर्माण गरिएको छ। यस्तै ८ सय ५४ किमी सडक स्तरोन्नति र नाला निर्माण गरिएको मन्त्रालयका सचिव अर्जुनकुमार बमले बताए। सडक विस्तारसँगै सुरक्षामा समानान्तर लगानी, प्रभावकारी ट्राफिक व्यवस्थापन, चालक अनुशासन र जनचेतनालाई प्राथमिकता दिन नसकिए कर्णालीमा सडक दुर्घटनाबाट हुने मानवीय क्षतिको शृंखला अझ गम्भीर बन्ने जोखिम देखिन्छ।


