वीरगंज | देशभर हाल २० वटा जिल्लामा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, सप्तरी, र सिरहा, बागमती प्रदेशमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकीमा कास्की, नवलपरासी पूर्व र तनहुँ, लुम्बिनी प्रदेशमा बाँके, रुपन्देही र दाङ सुदूरपश्चिमको कैलालीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
देशभर ८९ हजार ९४१ सक्रिय संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्र यो संख्या ५४ हजार ३५ जना छ। मन्त्रालयका अनुसार काठमाडौंमा ३८ हजार २२, ललितपुरमा १० हजार ३१९ र भक्तपुरमा ५ हजार ६९४ सक्रिय संक्रमित छन्।
यस्तै १८ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङजा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी, सुर्खेत र कञ्चपुर छन्। हाल कुनै पनि जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य नरहेको मन्त्रालयले जनाएको छ।