जनकपुरधाम । गत बिहीबार सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित खेतमा स्थानीय ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा शव फेला पर्यो ।११ चैतको राति उनीसँगै लागूऔषध प्रयोग गर्न बसेका उनका साथीहरूले नै धारिलो हतियारले टाउको काटेर सुशीलको हत्या गरेको प्रहरीले बतायो ।स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका ४० वर्षीय भान्जा अशोक झाले सुशीलको टाउको काटी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । ११ चैतको राति यी तीनै जनाले लागूऔषध प्रयोग गरेको र विवाद भएपछि दुवै मिलेर उनको टाउको काटेर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार एक वर्ष ८ महिनामा प्रदेशमा १४९ वटा हत्या र ५२० जबरजस्ती करणीका घटना हुँदा अधिकांशमा लागूऔषध प्रयोगकर्ताकै संलग्नता छ ।
२४ फागुनको राति बाराको निजगढ नगरपालिका–९ मा १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु घोपेर उनकै साथी अरुण साहले हत्या गरे । यी दुईबीच लागूऔषध सेवन गर्ने क्रममा विवाद हुँदा रौतहटको चन्द्रपुर नगरपालिका–९ कै २९ वर्षीय साहले शर्माको हत्या गरेको प्रहरीले बतायो । साहलाई प्रहरीले २५ फागुनमा रौतहटबाट हत्या आरोपमा पक्राउ गरिसकेको छ ।
लागूऔषध प्रयोगकर्ताबीचको आपसी विवादका कारण आफ्नै साथीको हत्या गर्ने क्रम बढिरहेको यी घटनाले देखाएको प्रदेश २ का प्रहरी पवक्ता एसपी कृष्ण प्रसाईं बताउँछन् ।
यस्तै, ३० चैत २०७६ मा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी नदी बाँधको छेउमा स्थानीय सुरज साह मृत अवस्थामा फेला परे । प्रहरीको अनुसन्धानबाट उनी लागूऔषध प्रयोगकर्ता रहेको र उनको हत्या लागूऔषध प्रयोगकर्ता उनकै साथी मिलेर गरेको तथ्य बाहिर आयो ।
मृतक सुरज, उनका साथी सुजितकुमार मुखिया, कृष्णकुमार मुखिया र चन्द्रशेखर मण्डलसँगै बसेर गाँजा पिउँदै चोरीको योजना बनाइरहेका थिए । चोरी गर्न आवश्यक पर्ने ताल्चा काट्ने कटर, खुकुरी र बोरा ल्याउनका लागि सुरज साहलाई जिम्मा दिइयो । साहले जिम्मा दिएको सामान ल्याए ।
प्रहरीको अनुसन्धानले यो ल्याएपछि उनका साथी मिलेर ताल्चा काट्ने कटरले साहकै टाउकोमा हान्दा उनको ज्यान गयो । यी चारै जनाले ‘सोनपिच’ नामको सोलुसन नामक लागूऔषध सुँघेका थिए । करिब १८ दिनपछि १७ वैशाख २०७७ मा साथीको हत्यामा संलग्न भएको आरोपमा यी चारै जना पक्राउ परे ।
यसैगरी धनुषाको सबैला नगरपालिका–७ स्थित लबटोली बस्ने २५ वर्षीय अरुण मण्डलको २८ जेठ २०७६ को राति गोली हानेर हत्या गरियो । उनलाई पनि सँगै बसेर गाँजा पिउने साथी १९ वर्षीय श्रवण मण्डलले गोली प्रहार गरेको प्रहरीको अनुसन्धानले देखायो ।
मण्डलद्वयसहितका युवा घर नजिकैको पोखरीमा बसेर गाँजा पिउने क्रममा विवाद भयो । त्यही विवाद बढेपछि श्रवणले अरुणमाथि गोली प्रहार गरे । उनको घटनास्थलमै ज्यान गयो । गोली हानेपछि फरार भएका श्रवण ३२ जेठमा पक्राउ परे ।
*****
प्रदेश २ मा लागूऔषध सेवन गरेर आफ्नै साथीको हत्या गरिएका यी चारवटा घटना एक वर्षभित्रै भएका हुन् । यी चार घटनाले प्रदेशका कतिपय युवा लागूऔषधको कुलतमा पर्दै गएको देखाएको प्रहरीको भनाइ छ ।
प्रदेश २ का प्रहरी पवक्ता एसपी कृष्ण प्रसाईं ८० प्रतिशत अपराधिक घटना लागूऔषधकै कारण भइरहेको बताउँछन् ।
उनका अनुसार लागूऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भएपनि पछि ती मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागूऔषधकै कारण हत्या र करणी भएको तथ्यांक प्रहरीमा छुट्टै रहँदैन ।
‘यद्यपि ८० प्रतिशत यस्ता अपराधिक घट्ना लागूऔषध प्रयोग गरेरै कारण हुने गरेको देखिन्छ,’ उनी भन्छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार एक वर्ष ८ महिनामा प्रदेशमा १४९ वटा हत्या र ५२० जबरजस्ती करणीका घटना हुँदा अधिकांशमा लागूऔषध प्रयोगकर्ताकै संलग्नता छ ।
गाँजादेखि हेरोइन र चरेससम्मको कारोबार
प्रदेश २ का आठ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । जसका कारण लागूऔषध ल्याउन सजिलो छ । लागूऔषधसहित पक्राउ पर्नेहरू भारतबाटै ल्याइरहेको अवस्थामा पक्राउ पर्ने गरेका छन् ।
विभिन्न किसिमको ट्याब्लेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ । यी लागूऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरीले आफ्नोस्तरबाट कोशिस गरिरहेको बताउँछ ।
चालू आर्थिक वर्षको फागुन महिनासम्म १ हजार ९१० किलो, ३४५ ग्राम ३४३ मिलीग्राम गाँजा प्रदेशका आठै जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबाहेक ६५५ ग्राम, २ हजार ३१५ मिलीग्राम ब्राउन सुगर, १४४ किलो, ६८५ ग्राम, ६० मिलिग्राम चरेस, २२ ग्राम, ९६० मिलीग्राम हेरोइन, १६ किलो, ५५० ग्राम अफिम नियन्त्रणमा लिएको छ ।
यही अवधिमा ४४ हजार ६२० वटा अन्य विभिन्न किसिमका लागूऔषध नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रसाईं बताउँछन् ।
२० महिनामा १६ सय ५२ जना पक्राउ
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रदेशमा प्रहरीले पछिल्लो २० महिनामा एक हजार ६५२ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को फागुनसम्मको अवधिमा लागूऔषध शीर्षकमा एक हजार १२२ वटा मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७६–७७ मा ९६२ मानिस लागूऔषधसहित पक्राउ पर्दा ६३५ वटा मुद्दा दर्ता भएको छ । सबैभन्दा बढी सिराहामा २४२ जना पक्राउ परेका प्रवक्ता प्रसाईंले बताए । यहाँ १६२ वटा मुद्दा दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको फागुनसम्म ६९० जना समातिँदा ४८७ वटा मुद्दा दर्ता भएका छन् । यो आर्थिक वर्षमा पनि लागूऔषधसहित पक्राउ पर्ने र मुद्दा दर्तामा सिराहा नै अगाडि देखिएको छ । यो जिल्लामा १४९ जना पक्राउ पर्दा ११० वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा कम रौतहटमा ३३ जना पक्राउ पर्दा २४ वटा मुद्दा दर्ता भएको छ ।
प्रदेश सरकारको ध्यान सौन्दर्यकरणमा
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले केही समयअघि महिला हिंसाविरुद्धको एक कार्यक्रममा लागूऔषधकै कारण जबर्जस्ती करणीदेखि अन्य अपराध बढेको स्वीकार गरे । तर, मुख्यमन्त्रीले समस्या न्यूनीकरणका लागि कुनै योजना ल्याउन नसकेको गुनासो बढेको छ । लागू औषध नियन्त्रणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याएको छैन ।
चालू आर्थिक वर्षको बजेटमा त लागूऔषध नियन्त्रणमा रकम विनियोजन भएको छैन तर पोखरी सौन्दर्यकरणमा करोडौं बजेट छुट्टयाइएको छ । सरकारले पोखरी सौन्दर्यकरण गर्न ५३ करोड छुट्टयाएको छ भने चुरे क्षेत्रमा जलाशय निर्माण गरी मनोरञ्जनात्मक स्थलको डिजाइन र निर्माणको लागि ३ करोड छुट्टयाएको छ ।
प्रदेशका युवाहरु लागूऔषधको कुलतमा फस्दै गएको तथ्यांक उच्च भए पनि प्रदेश सरकारले उन्नत नश्लका बोयर बोका खरिद तथा वितरणका लागि २ करोड विनियोजन गरेको छ ।
बढी प्रतिशत अपराध लागूऔषध प्रयोगकर्ताबाटै : डीआईजी सिंह
लागूऔषध र मादक पदार्थका कारण बढी अपराधिक घटना भइरहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । ८० देखि ८५ प्रतिशत घटना लागूऔषध र अत्याधिक मदिरा सेवनका कारण भइरहेको उनको भनाइ छ ।
उनका अनुसार ५० प्रतिशत आपराधिक घटना अत्याधिक मदिरा र ३५ प्रतिशत घटना लागूऔषध प्रयोगका कारण भइरहेको देखिएको छ ।