जनकपुरधाम | जनकपुरधाममा मनाइँने होली महोत्सव शनिबारदेखि सुरु हुँदै छ।मिथिला नाट्यकला परिषद्ले होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप भइरहेकोले त्यसको संरक्षण गर्न होरी महोत्सव र महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ।
मिथिलाञ्चलमा जोगिरा..(फागु गीत) सुनिन लगभग छोडिएको र भोजपूरी गीतको बिगबिगि बढी रहेको समय मिनापले पुरानो संस्कृतिलाई बचाउन प्रत्येक वर्ष होरी महोत्सव र महामूर्ख सम्मलेनको आयोजना गर्दै आएको हो। यस वर्ष मिनापले शनिबार र आइतबार मनाउन लागेको सचिव संदीप साहले जानकारी दिए।
दुई दिवसीय होरी महोत्सवको पहिलो दिन जोगिरा गायन प्रतियोगिता गरिने छ। जोगिरा गायनका लागि प्रदेशको विभिन्न १० वटा ठाउँका टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ ।
को बन्लान् महामूर्ख?
जनकपुरधाममा मनाइँने होली महोत्सवको प्रमुख आकर्षण मध्ये एक हो महामूर्ख सम्मेलन । महामूर्ख सम्मेलनका लागि जनकपुरधाममा महामूर्खको खोजी कार्य सम्पन्न भएको छ। प्रदेश २ का मुख्यमन्त्री देखि लिएर राजनीतिज्ञ, साहित्यकार लगायतकाले पाइसकेको उपाधि यस वर्ष कसले पाउने भन्नेमा चासाे बढेकाे छ।
मिनापले यस वर्ष महामूर्ख सम्मेलनको प्रमुख अतिथि मह जोडीको नामले चिनिने हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई बनाएको छ। मिनाप श्रोतका अनुसार नेपााली कला जगतको स्थापित नाम महजोडीलाई नै महामूर्खको उपाधी प्रदान गर्ने तयारी छ।
जनकपुरधाममा २०६१ सालदेखि महामूर्ख सम्मेलन हुँदै आएको छ ।
२०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ मा एमाले नेता शीतल झा, २०६३ मा जनकपुरधाम नगरपालिकाका तत्कालीन मेयर हरिबहादुर बिसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा, २०६५ मा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झालाई महामूर्खकाे उपाधि प्रदान गरिएकाे थियाे।
यस्तै २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेस प्रदेश दुईको संसदीय दलका नेता रामसरोज यादव, २०७० मा जसपा नेता डा. विजय कुमार सिंह, २०७१ मा प्रदेशसभा सदस्य शत्रुधन महतो, २०७२ मा श्मसान घाटलाई स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।
२०७३ सालमा सप्तरीको मलेठमा तत्कालीन एमालेले गरेको मेची महाकाली अभियानको क्रममा प्रहरीको गोली लागी ५ जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव कार्यक्रम नै मिनापले स्थगित गरेको थियो।
२०७४ सालमा जसपाका नेता वृषेशचन्द्र लाल, २०७६ मा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र २०७७ सालमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।