पर्सा | पर्साको ग्रामीण क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ ।तस्करहरुले तथा माफियाहरुले प्रहरी र प्रशासनको आँखा छलेर दैनिक गिट्टी , बालुवा र ढुंगाको तस्करी गरिरहेको स्थानीय बताउँछन् । कतिपय अवस्थामा प्रहरी र प्रशासनलाई नै प्रभावमा पारेर त, कतिपय अवस्थामा आँखा छलेर दैनिक रुपमा तस्करी हुने गरेको स्थानीयहरुको दाबी छ । यस प्रकारको तस्करीमा वनका कर्मचारीको पनि मिलोमतो हुने गरेको जानकारी प्राप्त छ ।
पर्साको ग्रामीण भेगमा रहेका भेडाहा खोला, कर्जनिहा खोला र सिङ्गगाही खोलाहरुबाट अवैध रुपमा दैनिक गिट्टी, बालुवा र ढुंगा तस्करी हुने गरेको छ । दैनिक रुपमा कयौं ट्याक्टरहरु नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भइरहेका छन् ।यसै क्रममा आज ईलाका प्रहरी कार्यालय श्रीपुरको गस्ती टोलिले ४ वटा बालुवासहितको ट्याक्टर बरामद गरेको छ । बीरगन्ज महानगरपालिका वडा नं. २३ प्रसौनीबाट प्रहरीले ४ थान बालुवा लोड गरेको ट्याक्टर बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिलाई बुझाएको छ ।
प्रहरी गस्ती टोलिले ना ५ त ७३४९, ना ७ त ६२७८, ना ३ त २३५८ र ना ५ त ८४२० नम्बरको बालुवा लोड गरेको ट्याक्टर बरामद गरेको थियो ।जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेकमहमद अन्सारीका अनुसार प्रहरीले पक्राउ गरी बुझाएको थियो । बालुवा जफत गरी प्रति ट्याक्टर ३५ सयका दरले जरिवाना गरी १ पटकको चेतावनी दिएर छाडिएको अन्सारीले बताए ।