काठमाडौं । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नियमित तथा ‘उद्धार उडान’ मार्फत हालसम्म ६७ हजार बढी नेपाली नेपाल फर्काएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार भदौ अन्तिमसम्म ६६ हजार ३१९ नेपाली स्वदेश फर्किएका छन् । यस्तै असोज १ गते थप ९०१ जनासहित कुल ६७ हजार २२० स्वदेश फर्किएका छन् ।
सीसीएमसीका अनुसार आजमात्र साउदी अरबबाट १५५ नेपाली स्वदेश फर्किएका छन् भने २ शव समेत ल्याइएको छ। यस्तै चीनबाट ५०, मलेसियाबाट १४४, कतारबाट १८६, स्तानबुलबाट २२५ र दुबईबाट १४१ जना स्वदेश फर्किएका हुन् ।
यसअघि भदौ ३१ सम्मको अवधिमा विभिन्न ३० देशमध्ये सबैभन्दा धेरै युएईबाट १८ हजार ७९६ जना स्वदेश फर्किएका छन् । यस्तै कतारबाट ८ हजार ७४२, कुवेतबाट ७ हजार ५१७, मलेसियाबाट १० हजार ३२३, साउदीबाट ९ हजार ६१९ जना फकिएका छन् ।
यस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, ओमान बहराइन लगायतका देशबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् । सरकारले पछिल्लो समय पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर नियमितका साथै उद्धार उडान समेत गर्दै आएको छ । नियमित उडान खोल्नुअघि भने उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्किइएको थियो ।