वीरगंज | स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै छ। नेपालमा प्रथमपटक २०७० असोज १ देखि विज्ञान दिवस मनाउन लागिएको हो। अमृत साइन्स क्याम्पसको स्थापना दिवसलाई विज्ञान दिवसका रूपमा मनाउने गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ। यस दिवसमा विभिन्न सरकारी गैरसरकारी निकायले विज्ञानलाई लोकप्रिय बनाउने विभिन्न क्रियाकलाप जस्तै– व्याख्यान, समूहगत छलफल, विज्ञानसम्बन्धी स्लाइड तथा चलचित्र प्रदर्शनी, गोष्ठीहरूको आयोजना, सर्वसाधारणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा प्रयोगशालाहरू सर्वसाधारण तथा विद्यार्थीका लागि खुला गरेर अवलोकन गर्न दिनेजस्ता कार्यक्रम विगतमा हुने गरेकोमा हाल कोभिड– २०१९ ले गर्दा वेभिनार तथा मिडियाहरूमा सीमित हुनुपर्ने अवस्था रहेको छ। यस दिवसका अवसरमा हामीले विज्ञान तथा प्रविधि क्षेत्रमा भए–गरेका सार्थक ज्ञानलाई जनमानसमा बृहत्तर रूपमा प्रवाह गर्नुका साथै हाम्रोजस्तो रुढिवादबाट आक्रान्त समाजलाई रुढिवादबाट मुक्त गरेर विज्ञान र प्रविधिको सार्थक प्रयोगलाई अंगीकार गर्नमा सहयोग पुर्याउँछ। यस दिवसले विज्ञानका विद्यार्थीलाई यस क्षेत्रको अध्ययन–अनुसन्धानमा संलग्न रहने अभिप्रेरणा मिल्छ भने वैज्ञानिकलाई आफूले गरका अध्ययन–अनुसन्धानलाई सम्बन्धित क्षेत्र तथा आमजनतामा बुझाउने अवसर प्राप्त हुन जान्छ।
विगत विभिन्न कारणले विज्ञान तथा प्रविधिसँग आबद्ध संस्थाले आशातीत उपलब्धि हासिल गर्न सकेनन्। विज्ञान क्षेत्रमा अत्यधिक न्यून लगानी, विज्ञानका संस्थाहरूको नेतृत्वमा राजनीतिक परिदृश्यमा परिभ्रमण गर्ने व्यक्तिहरूको मात्र बाहुल्य जसले गर्दा ‘उचित व्यक्ति उचित स्थान’ को सिद्धान्त लागू हुन नसक्नु; विज्ञान र प्रविधिका संस्थाहरूमा विज्ञान र प्रविधिको भन्दा प्रशासनिक व्यक्तिहरूको बाहुल्य हुनु; नीतिगत रूपमा अनुसन्धान तथा विकास कार्यलाई अग्रयायी बनाउने कार्यको अभाव, नीतिगत सुधारमा कमी, विज्ञान र प्रविधि विकासका लागि सारगर्भित प्रयासको कमी; अति आवश्यक संस्थागत संरचनाको कमी आदि कारणले विज्ञान र प्रविधि क्षेत्रमा सोचेअनुरूप उपलब्धि हासिल हुन सकेन। यही कारणले छिमेकी राष्ट्र भारत र चीनले चन्द्र विजय गरिसके पनि हामी ग्यालिलियोको युगमा छौं।
हाम्रोजस्तो विकासोन्मुख, अन्धविश्वास तथा भाग्यवादी परम्पराबाट आक्रान्त समाजमा वर्षमा एक वा दुई दिन मनाइने विज्ञान दिवस पर्याप्त देखिँदैन। यसस“ग आबद्ध संस्थाहरूले प्रत्येक दिन, सप्ताह, महिना र वर्षमा विज्ञान तथा प्रविधि विकासका लागि समर्पित रहन आवश्यक छ।
यसैगरी विश्वविद्यालयका विज्ञानका विभागहरू केवल विज्ञान पढाउने विभागका रूपमा सीमित देखिन्छ। केही गरिएका अनुसन्धान पनि सर्वेक्षण प्रकारका देखिन्छन्। अत्याधुनिक अनुसन्धानको त कुरा छाडौं, सामान्य अनुसन्धानका लागि पनि त्यहाँ बजेटको अभाव देखिन्छ। एकातिर सरकारबाट पर्याप्त मात्रामा बजेट उपलब्ध हुँदैन भने अर्कातिर स्वयंले स्रोतसाधन उत्पादन गर्ने कार्य पनि गर्न सक्दैनन्। विज्ञानका संस्थाहरूलाई पनि राजनीतिक हस्तक्षेपदेखि टाढा राखेर अटोनोमस संस्थाका रूपमा विकास गरिनुपर्छ र उनीहरूलाई राष्ट्र विकासप्रति बढी उत्तरदायी बनाउँदै उनीहरूको अनुसन्धानात्मक कार्यको उच्च मूल्यांकन हुन सक्ने प्रणाली विकास हुन पनि जरुरी देखिन्छ।
कर्मचारीतन्त्र तथा राजनीतिक जगत्ले पनि विज्ञानलाई त्यति महत्त्व दिएको देखिँदैन। कतिपय राजनीतिक पार्टीहरूले चुनावी समयको मुखपत्रमा विज्ञान तथा प्रविधिको समुचित विकास तथा प्रयोगका लागि संलग्न रहने कुरा उल्लेख भए पनि त्यस्तो कुरा भएको पाइँदैन। विज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनप्रवाह गर्न कुनै विशेष नीति पाइँदैन। उच्च क्षमताका वैज्ञानिकहरूलाई पर्याप्त तलब तथा सुविधा दिने कुनै प्रणाली देखिँदैन। नेपाल सरकारका पुरातन मन्त्रालयहरूमा लागू भएको आर्थिक नियमावलीबाट विज्ञानजस्तो गहन विद्या सञ्चालन के उपयुक्त होला ?
आजको दिवसमा हामीले विभिन्न कुरा मनन गर्न आवश्यक छ। हाम्रो राष्ट्रमा विज्ञान तथा प्रविधिको अवस्था कस्तो छ ? हामीले विज्ञान क्षेत्रमा कत्तिको अनुसन्धान गरिरहेका छौं ? के हाम्रो विज्ञानका संस्थाहरू विज्ञानका भव्य समाधिस्थलमा रूपान्तरण त भइरहेका छैनन् ? हेर्दा राम्रो भवन उच्च अध्ययन गरेका कर्मचारी तर परिणाम के आएको छ ? विज्ञान मन्त्रालयको स्थापना भएको २३ वर्ष भइसक्यो। त्यस्तै विज्ञानका अन्य विभिन्न निकाय पनि स्थापित छन्। तिनीहरूको स्थापनाको पनि लामो समयावधि भइसक्यो। स्थापनापश्चात् यी संस्थाले राष्ट्रका लागि, आम जनमानसका लागि केकति उपलब्धिमूलक कार्य गरेका छन् ? के यिनीहरू समाधिस्थलजस्ता केवल दर्शनीय र पूजनीय मात्र भएका त छैनन् ?
के नेपाल सरकारले विज्ञान क्षेत्रमा बृहत्तर लगानी गरेको छ ? के समुचित स्रोत र साधन उपलब्ध गराएको छ ? के ती संस्था राजनीतिक प्रभुत्वबाट मुक्त छन् ? यी संस्थामा विज्ञानका कार्य तथा अनुसन्धान कत्तिको भइरहेका छन् ? विज्ञान तथा प्रविधिको द्रूततर विकासका लागि कर्मचारीतन्त्रमा पनि हाल छुट्टै विशेष सुविधा र अनुसन्धान अगाडि बढाउन सक्षम दक्ष जनशक्तिका लागि छुट्टै विज्ञान सेवा समूहको आवश्यक छ कि ?
हामीले के कुरा बुझ्न आवश्यक छ भने राष्ट्रको उज्ज्वल भविष्य युवा वैज्ञानिकहरूमा निहित छ र नेपाललाई वर्तमानभन्दा भविष्यमा विकसित र सशक्त राष्ट्रका रूपमा रूपान्तरण गर्न उनीहरूलाई समुचित स्रोत र साधन तथा कार्यरत रहने वातावरण उपलब्ध गराउन अति आवश्यक हुन्छ। वर्तमान परिप्रेक्ष्यमा युवा वैज्ञानिकलाई विशेष सुविधा, साधन र स्रोत दिएर उनीहरूलाई राष्ट्र हितका लागि अनुसन्धानमा संलग्न गराउन अपरिहार्य देखिन्छ। साथै ज्ञान र विज्ञानको विस्फोटन भइरहेको वर्तमान युगामा युवा वर्गहरूले पनि सोच्न जरुरी छ कि राजनीतिको झन्डा बोक्ने कि ज्ञानको सागर ? सिर्जनशील हुने कि लाहुरे मानसिकताबाट ग्रस्त हुने ?
हाम्रा विज्ञानसँग आबद्ध निकायहरू उच्चस्तरीय अनुसन्धानभन्दा सर्वेक्षण प्रकारका अनुसन्धानमा संलग्न देखिन्छन्। उद्योगहरू आयातीत वस्तुहरूको एसेम्बलिङमा मात्र सीमित रहेको देखिन्छ। जडिबुटीको धनी देशमा जडिबुटीमा कत्तिको अनुसन्धान भइरहेको छ ? स्वास्थ्यको अनुसन्धान क्षेत्रमा हाम्रो आन्तरिक क्षमता कत्तिको छ ? कृषि क्षेत्रमा हाम्रो अनुसन्धान कत्तिको प्रभावकारी छ ? हामीसँग के दीर्घकालीन योजना र प्राथमिकताका क्षेत्र निर्धारण छन् ?
यस राष्ट्रिय दिवसमा हाम्रो आजसम्मको उपलब्धिको आलोचनात्मक मूल्यांकन तथा राष्ट्रमा निहित विज्ञान एवम् वैज्ञानिकहरूको अन्तरनिहित क्षमताको पूर्ण मूल्यांकन हुनुका साथै राष्ट्रमा विज्ञान तथा प्रविधिको विकास तथा निर्दिष्ट मार्ग चित्रणका लागि जोडदार बहस एवम् चर्चा हुनु अपरिहार्य देखिन्छ।
यो दिवसले निश्चितरूपमा राष्ट्रमा वैज्ञानिक चेतना एवम् संस्कारको प्रार्दुभाव गर्नमा अहम् भूमिका निर्वाह गर्नेछ। यसका लागि अधिकतम जनसहभागिता, युवा वैज्ञानिकहरूको अत्यधिक परिचालन अपरिहार्य हुन जान्छ, जसले गर्दा बढीभन्दा बढी सर्वसाधारणमा विज्ञानको सार्थक ज्ञानप्रति अभिरुचि बढोस् र युवाहरूमा विज्ञान तथा प्रविधिका क्षेत्रमा कार्यरत हुने प्रेरणा मिल्न सकोस्।
यो दिवस यस क्षेत्रमा कार्यरत संस्था तथा वैज्ञानिकहरूले स्वयम्को मूल्यांकन गर्ने समय पनि हो। हामीले हाम्रा विगतका मिसनमा प्राप्त सफलता वा असफलता, हाम्रा कार्यान्वयनमा रहेका मिसनहरू तथा भविष्यमा परिचालन गर्ने योजनालाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट पुनर्मूल्यांकन गर्न जरुरी छ।
हाम्रोजस्तो विकासोन्मुख, अन्धविश्वास तथा भाग्यवादी परम्पराबाट आक्रान्त समाजमा वर्षमा एक वा दुई दिन मनाइने विज्ञान दिवस पर्याप्त देखिँदैन। यसस“ग आबद्ध संस्थाहरूले प्रत्येक दिन, सप्ताह, महिना र वर्षमा विज्ञान तथा प्रविधि विकासका लागि समर्पित रहन आवश्यक छ अनि मात्र राष्ट्र विकासले मूर्तरूप लिनेछ।