भारतको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आँकडामा एप्रिलदेखि जुनको अवधिमा त्यहाँको अर्थतन्त्र एक चौथाइले सङ्कुचित भएको पाइएपछि नेपालमा पनि त्यसको सोझो असर पर्न सक्ने चिन्ता बढेका छन्।
नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ भाग निकट छिमेकी भारतसँग नै हुने गरेको छ।
अन्य आर्थिक-सामाजिक अन्तरसम्बन्ध पनि उत्तिकै गहिरो छ। नेपालको अर्थतन्त्र पनि महामारीका असरले ग्रस्त छ।
त्यसैले भारतको अर्थतन्त्र खुम्चिँदा त्यसबाट नेपाल अछुतो रहन सक्दैन भन्नेबारे अर्थविद्हरू सहमत छन्। तर त्यसको खास असर भने निम्न पाँच क्षेत्रमा पर्ने उनीहरूले औँल्याए:
कोरोनाभाइरसको जोखिम अझ बढे ‘नेपाल भारत सीमा नाकाबाट सामान ढुवानी मात्रै गरिने’
कोभिड-१९ महामारीले नेपालमा कुन-कुन क्षेत्रमा पार्दैछ घातक असर
असारमा सकिएको अघिल्लो आर्थिक वर्षभरिमा आयात तथा निर्यात गरि नेपालको कुल वैदेशिक व्यापार झन्डै १३ खर्ब रुपैयाँ बराबरको थियो जसमध्ये ८ खर्ब भारतसँग नै थियो।
सो अवधिमा नेपालको कुल निर्यात ९७ अर्बमध्ये ७० अर्ब भारततर्फ थियो भने कुल आयात झन्डै १२ खर्बमध्ये करिब साढे ७ खर्ब भारतबाट थियो।
निर्यातको हकमा भारततर्फ नेपालले अलैँची, अदुवा र जुट पठायो भने आयातको ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगट्यो।
“भारतमा अर्थतन्त्र खस्कँदा त्यहाँ उपभोक्ताहरूले गर्ने खर्च पनि कम हुनेछ। त्यो भनेको हाम्रो निर्यात घट्नसक्छ,” दक्षिण एसियाको व्यापार तथा अर्थतन्त्रको अध्ययन गर्ने संस्था सावतीका कार्यकारी निर्देशक डा. पुष्प शर्माले बताए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. शङ्कर शर्मा पनि नेपालको निर्यात व्यापार भारततर्फ निकै प्रभावित हुनसक्ने ठान्छन्।
नेपालले गर्ने कुल निर्यातमा ठूलै अंश भारततर्फ थियो। त्यसले व्यापार घाटाको समस्या जटिल बन्न सक्ने उनले बताए।
“भारतमा कुनै किसिमले उत्पादनमा कमी आयो भने त्यसको असर हामीकहाँ परिहाल्छ। हालैका दिनमा त्यहाँ प्याज निर्यात प्रतिबन्ध लाग्ने वित्तिकै काठमाण्डूको बजारमा असर देखियो। चामल, दाल, फलफूल र तरकारी त्यतैबाट आउँछ। त्यहाँ तिनको उत्पादन वा आपूर्ति प्रणालीमा गडबड भए यहाँ असर पर्छ,” पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए।
अहिले कोरोनाभाइरसको महामारीको समयमा संसारका सबै देशले आ-आफ्ना अर्थतन्त्र बलियो पार्न लगानी खोजिरहेका छन्।
विदेशी लगानी भित्र्याउन उसैपनि पछि परिरहेको नेपाललाई छिमेकी भारतको अर्थतन्त्र डामाडोल भयो भने थप निराश बनाउने देखिन्छ।
उद्योग विभागले अघिल्लो वर्षसम्म (२०७५/७६) बटुलेको आँकडामा नेपालमा विदेशी लगानीकर्ताको तुलना गर्दा चीनपछि दोस्रो स्थानमा भारत छ।
सो अवधिमा नेपाली उद्योगमा भएका झन्डै ३ खर्ब रुपैयाँको कुल विदेशी लगानीमध्ये भारतीय लगानी झन्डै एक तिहाइ वा ९४ अर्ब रुपैयाँ बराबरको रहेको थियो।
“संयुक्त राष्ट्रसङ्घको व्यापारसम्बन्धी निकायले गरेको प्रक्षेपणमा यसपाली विश्वभरि नै विदेशी लगानी घट्नेछ,” डा. पुष्प शर्माले बताए।
“त्यसमाथि हामीकहाँ धेरै लगानी गर्ने छिमेकी मुलुक आफैँ समस्याग्रस्त भएपछि नेपाललाई झन् असर पर्ने नै भयो।”
भारतले उसको सन् २०१९/२० को आर्थिक वर्षमा नेपाललाई सहयोगका निम्ति करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको थियो।
बहत्तर सालको भूकम्पपश्चात् भारतले ठूलै परिमाणमा अनुदान तथा सहुलियतपूर्ण ऋण दिएको थियो।
उसले लाइन अफ क्रेडिट अन्तर्गत डेढ अर्ब अमेरिकी डलरको सहुलियतपूर्ण ऋण नेपाललाई उपलब्ध गराउने भनेको छ।
महामारीको विकराल समस्या चर्किएको बेला नेपालजस्ता गरिब मुलुकले विदेशी सहयोगको झन् बढी आश गरेका हुन्छन्।
“तर बितेका केही महिनामा हामीले के देख्यौँ भने बहुपक्षीय सहयोग संस्था विश्वब्याङ्क वा एसियाली विकास ब्याङ्क बाहेक अरूले खासै सहयोग गरेनन्,” डा शङ्कर शर्माले भने।
“ऋणमोचनमा पनि खासै सहयोग भएको छैन। त्यसैले हामी छिमेकीहरूमा भर पर्नु पर्ने हुनसक्छ तर भारत आफैँ कठिनाइमा परेको छ।”
रोजगारीको विषयमा आधिकारिक आँकडा भेट्न मुस्किल छ।
कति नेपाली भारतमा रोजगारी गर्छन् अनि कुन कुन क्षेत्रमा गर्छन् भन्ने स्पष्ट आँकडा पाइँदैन।
काठमाण्डूस्थित भारतीय दूतावासको वेबसाइटमा करिब ८० लाख नेपाली भारतमा बस्छन् र काम गर्छन् भनिएको छ।
जे होस् लाखौँ नेपालीले भारतमा रोजगारी पाएका छन्।
यसपाली भारतको अर्थतन्त्रको खराब तस्बिर सार्वजनिक हुँदा त्यसमा खासगरि निर्माण, होटल, यातायात तथा उत्पादनमूलक क्षेत्रमा धेरै असर परेको तर कृषि क्षेत्रमा भने असर नपरेको देखिएको छ।
“त्यसैले अब कृषिक्षेत्रमा रोजगारी पाएका नेपालीको हकमा समस्या नहोला तर अन्यत्र काम गरिरहेकाहरूलाई अप्ठेरो पर्नसक्छ,” डा पुष्प शर्माले भने।
सन् २०१९ को विवरण अनुसार नेपाल भ्रमण गरेका कुल १२ लाख पर्यटकमध्ये सबभन्दा धेरै वा बीस प्रतिशत पर्यटक भारतबाटै आएका थिए।
सो अवधिमा अढाइ लाख भारतीयले नेपाल भ्रमण गरे।
आउने दिनमा पनि खासगरि भारतसहित छरछिमेकका पर्यटकहरू व्यापक ठूलो परिमाणमा निम्त्याउने नेपालको लक्ष्य छ।
तर अर्थतन्त्र शिथिल हुँदा कतै आम भारतीय पर्यटकले भ्रमणका योजना कम गर्दै लग्ने हुन् कि भन्ने चिन्ता नेपाललाई पर्न सक्छ।