वीरगंज। सांसदहरुले महिलालाई खाडी मुलुकमा घरेलु श्रमका लागि जान रोक लगाउन माग गरेका छन् ।प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेको देशमा महिलालाई श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले असहज र असुक्षित प्रकारले श्रमका लागि गएका महिलालाई पीडामात्रै हुने भएकाले श्रम गर्न जानका लागि प्रेरित गर्न नहुने बताउनुभयो ।उहाँले घरेलु श्रमका लागि खाडी मुलुक पुगेका महिला मानसिक र शारीरिक शोषणमा परेको बताउँदै असुरक्षित तवरले श्रम गर्न जाने क्रियालापलाई पूर्णरुपमा रोक्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पनि महिला श्रमिकलाई खाडी मुलुक पठाउने कार्य रोक्नुपर्ने बताउनुभयो ।वैधानिक र अवैधानिक दुवैरुपमा नै कामदार पठाउने कार्य राक्नुपर्ने उहाँको भनाइ थियो ।रसाइलीले आफ्ना नागरिक अप्ठ्यारोमा पर्दा आफ्ना नागरिकलाई उद्धार गर्न कुनैपनि ऐन, नियम, कार्यविधि आवश्यक नपर्ने भएकाले तत्काल उद्धार गर्न मागसमेत गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मुकुन्द न्यौपानेले सबै पार्टीसँग सम्बन्धित गिरोहले महिलालाई खाडी मुलुक पठाउन दबाब दिने गरेको बताउनुभयो ।मन्त्रालयमा रहेका पार्टीका कर्मचारी युनियनलेसमेत यस्तो विषयमा दबाब दिने गरेको उहाँको आरोप छ ।
उहाँले महिलालाई मुलुकको उत्पादनमा लगाउनेभन्दा पनि कानुन बनाएर घरेलु श्रमिकको रुपमा विदेश पठाउने काम सरकारले नै रोक्नुपर्ने बताउनुभयो ।महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले जसरी विदेशिएपनि अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।
कोभिड-१९ संक्रमणको अवस्थामा विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश ल्याउने दायित्व सरकारको नै भएकाले ऐन, नियम छैन भन्दै पन्छिने कार्य गर्न नहुने बताउनुभयो ।सरकारले भने कोभिडको संक्रमणपछि विभिन्न देशमा रहेका आफ्ना नागरिकको उद्धार गरेपनि अवैधानिकरुपमा विभिन्न मुलुकमा पुगेका र अलपत्र परेकालाई वैदेशिक कल्याणकारी कोषको रकम कानुनअनुसार खर्च गर्न नमिल्ने बताउँदै आएको छ ।