वीरगंज | मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ५ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
भारी वर्षा हुने विभिन्न ५ प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
यस्तै आज कन्काई, कोशी, कमला, बागमती, पूर्वी राप्ती र केही स-साना नदी जलाधारमा बहाब केही बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।