बैतडी | १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा बैतडी प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा सिगास गाउँपालिकाका दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरिएको हो। उनीहरु दुवै जनालाई बुधबार साँझ नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनले भने ‘हामीले किशोरी बलात्कार प्रकरणमा सुक्ष्म रुपले अनुसन्धान गरिरहेका छौं।
पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा थप दुई जनालाई पक्राउ गरेका छौं।’ पक्राउ गरेकाहरुलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान थालिने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्क बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।
‘हामीले अघिल्लो दिन पक्राउ गरेका तीनजना माथि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाइसकेका छौं।’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ‘बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि छोडिदैन्। अहिले नै हामी निष्कर्षमा पुगिसकेका छैनौं।
घटनाको पूर्ण रुपले अनुसन्धान भईरहेको छ।’ सिगासकी १७ वर्षीया किशोरीमाथि विद्यालयमै पढाउने शिक्षकबाट पटक पटक बलात्कार गरेको खुलेपछि अहिले यो घटनाले चर्चा पाएको छ। घटना पहिलेकै भएपनि किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनि माथि बलात्कार भएको घटना बाहिर आएको थियो।
अहिले पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ। सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई उनलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही हुने उल्लेख छ। सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ।