एजेन्सी । सञ्जय दत्तको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनकी पत्नी मान्यताले अनावश्यक अनुमान गरी हल्ला नगर्न आग्रह गरेकी छिन् ।
मान्यताले विज्ञप्ति जारी गर्दै महामारीको अवस्था सामान्य नभएसम्म प्रारम्भिक उपचार भारतमै हुने जानकारी पनि दिएकी छन् । सञ्जयको प्रारम्भिक उपचार मुम्बईको कोकिलाबेन अस्पतालमा गरिने र उपचारको आधारमा विदेशमा उपचार गर्न जानेबारे योजना बनाउने पनि विज्ञप्तिमा छ । सञ्जयको मंगलबार कोकिलाबेन अस्पतालमा पहिलो चरणको उपचार गरिएको थियो ।
क्यानसरसँगको लडाइँमा श्रीमानले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै सञ्जयको रोगको अवस्थाबारे अनावश्यक अनुमान नगर्न पनि उनले आग्रह गरेकी हुन् ।
दर्शकले सञ्जयलाई दिएको माया र आर्शीवादका लागि धन्यवाद दिँदै मान्यताले यो लडाइँबाट चाँडै पार लगाउन सकारात्मक भएर अघि बढ्ने बताएकी छन् ।
कोरोना महामारीको अवस्था सामान्य भएपछि मात्रै बाहिर उपचार गर्न लैजानेबारे योजना बनाउने भन्दै अहिलेका लागि भने सञ्जय विदेश नजाने र भारतमै उपचार गरिने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिको अन्त्यमा मान्यताले दत्त परिवारको आत्मा सञ्जय भएको भन्दै सबैलाई प्रार्थना गरिदिन र अनावश्यक हल्ला नफैलाउन आग्रह गरेकी छन् । -(इन्डियन एक्सप्रेस)