एजेन्सी । विश्वका सर्वाधिक सफल उद्यमी, टेस्ला कम्पनीका संस्थापक एलन मस्क मोडल ३ कारको निर्माणकार्यमा लाग्दैगर्दा रातभर नसुति काम गर्ने गरेको र प्रायः अफिसको भुईँमै सुत्ने गरेको सम्झिन्छन् । यसरी दिनरात नभनि काम गर्ने मस्कले आजको स्थानसम्म पुग्न अर्को एक खराब बानी पनि त्याग्नुपरेको स्वीकार गरेका हुन् ।
टेस्लाको मोडल ३ उत्पादनको समयमा भने मस्क यति व्यस्त थिए कि उनीसँग घर जाने र नुहाउने समय समेत नभएको हुँदा आफ्नो फ्याक्ट्रीको भुईँमै केहीबेर निदाउने उनी बताउने गर्थे । उनले त्यो समयलाई पीडादायी क्षण भनि व्याख्या गरेका हुन् । उनी भन्छन्, “म अधिकांश मान्छे जसरी यो कुरामा विश्वास गर्दिनँ कि, केही व्यक्तिहरु दिनरात खटिरहँदा त्यस कम्पनीका प्रमुख चाहिँ बिदामा बसेर रमाइलो गरिरहेको हुनुपर्छ । ” यसबीच अफिसमा आफ्नो एउटा निर्धारित डेस्क समेत नभएको उी बताउँछन् र जहाँ आफ्नो सबैभन्दा बढी आवश्यकता पर्छ आफूले त्यहीँ अस्थायी डेस्क जस्तो बनाएर काम गर्ने गरेको बताए ।
उनका अनुसार विश्वव्यापी सफलता हासिल गर्नु अगाडि उनको अत्याधिक धेरै मात्रामा क्याफिनयुक्त पेय पदार्थ सेवन गर्ने बानी थियो । उनले भनेका छन्, “कुनै समय यस्तो पनि थियो जब मैले एक दिनमा आठवटा सम्म डायट कोक वा त्यस्तै क्याफिनयुक्त पेय पदार्थ खाने गर्दथेँ ।” जर्मन अटोमोबाइल म्यागजिन अटो बिडसँगको अन्र्तवार्तामा बोल्दै उनले थप भनेका हुन्, “तर अहिले म त्यति पागल छैन । दिनमा एउटा वा दुईवटा भन्दा धेरै खान्नँ । ”
त्यस्तै उनमा कफीको लत पनि अर्को नराम्रो बानी रहेको उनले बताए । मस्क भन्छन्, “म यति धेरै कफी पिउँथे कि मलाई त्यसको नशा लाग्ने गर्दथ्यो । अत्याधिक कफी सेवनका कारण म हरेक समय ‘ओभर क्याफिनेटेड’ हुन्थेँ जुन अवस्य पनि शारीर र मस्तिष्कका लागि राम्रो होइन । यसले मेरो काममा पनि प्रभाव पारिरहेको हुन्थ्यो । ”
हाल ३१.६ अर्ब डलर सम्पतिका मालिक मस्क, ती सबै बानी हटेपछि मात्र आफू सफल हुन सकेको बताउँछन् । यसरी पछिल्लो समय धेरै मानिसहरुमा क्याफिनको लत बढ्दै गइरहेको छ । मस्कका अनुसार उनले बिस्तारै कफी र डायट कोकलाई पानी र स्वस्थकर खानेकुराले प्रतिस्थापन गरि सो बानी छुटाएका थिए ।