वीरगन्ज | वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जका प्रमुख धार्मिक स्थलहरूमध्ये एक बिन्दवासिनीमाई मन्दिरको सौन्दर्यकरण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १९, केहुनियामा अवस्थित यस मन्दिरको सौन्दर्यकरणका लागि महानगरपालिकाले केही समयअघि नै काम सुरु गरेको भए पनि लाइटिङ लगायतका केही कामहरू अझै अधुरो रहेको पाइएको छ।
मंगलबार मेयर सिंहले महानगरका कर्मचारीहरूको टोलीसहित मन्दिरको स्थलगत अवलोकन गरेपछि बाँकी रहेका कामहरू तत्काल सुरु गर्न निर्देशन दिए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रलाल साहसँगको छलफलपछि मेयर सिंहले मन्दिरमा लाइटिङ बत्ती जडान गर्ने, कम्पाउण्डभित्र अधुरा रहेका संरचनाहरू पूरा गर्ने, र सम्पूर्ण सौन्दर्यकरणका कामलाई अघि बढाउने निर्णय गरेका हुन्। उनले यी कामहरू मन्दिरको भव्यता र आकर्षण बढाउन आवश्यक भएको बताए।
मेयर सिंहले मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउनका लागि थप संरचना विकास गर्ने योजनासमेत अघि सारेका छन्। उनले मन्दिर परिसरको सौन्दर्यकरण सम्पन्न भएपछि यस क्षेत्रले थप भक्तजन र पर्यटकलाई आकर्षित गर्न सक्ने विश्वास व्यक्त गरे।
स्थानीय वासिन्दाहरूले पनि बिन्दवासिनीमाई मन्दिरको सौन्दर्यकरणलाई स्वागत गर्दै यसले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताएका छन्। यस मन्दिरले वीरगन्जको सांस्कृतिक धरोहरका रूपमा ठूलो महत्त्व राख्ने भएकोले महानगरपालिकाको यो कदमले धार्मिक आस्थाका स्थानहरूको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यसै क्रममा मेयर सिंहले मन्दिर परिसरको सफाइ व्यवस्थापन, बत्तीहरूको मर्मतसम्भार, र अन्य भौतिक संरचनाहरूको पुनर्निर्माणको कामलाई पनि चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन्।