

वीरगंज | बलिउडको बहुप्रतिक्षित चलचित्र ‘रामायण’ले बक्सअफिस कलेक्सनमा सुधार गरिरहेको छ । सोमबार भने कलेक्सनमा ठूलो सुधार देखिएको छ ।
‘रामायण’ले भारतमा हिन्दी भाषामा हालसम्म पाँच दिनमा २७०.२५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ ।



पहिलो दिन बिहीबार ४७ करोड, दोस्रो दिन ३८.२५ करोड, तेस्रो दिन ५३ करोड, चौथो दिन आइतबार ३७ करोड र सोमबार ९५ करोड कलेक्सन गरेको ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् ।
यो चलचित्रले ‘दृश्यम–३’ र ‘टक्सिक’को भन्दा पनि कम ओपनिङ गरेको थियो । ‘रामायण’को ओपनिङलाई बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट सुमित कँडेलले ‘सकिङली लो ओपनिङ’ भनेका थिए । तर, सोमबार भने यो सिनेमाको कलेक्सन निकै धेरै देखिएको छ ।
“सोमबारको एक दिनको कमाइले पाँच दिनको कुल व्यापारमा ३५.१५ प्रतिशत योगदान दिएको छ,” तरण लेख्छन्, “सोमबार (पाँचौँ दिन)को व्यापार पहिलो दिन (बिहीबार)को तुलनामा १०२.१३ प्रतिशत र चौथो दिन अर्थात् आइतबारको तुलनामा १५६.७६ प्रतिशतले वृद्धि भएको छ ।”
मंगलबार (आज, छैटौँ दिन)को व्यापार पनि उच्च हुने आकलन तरणको छ । गुजराती नयाँ वर्षको उत्सवका कारण गुजरातमा सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
गुजरात सिनेमाको व्यावसायिक प्रदर्शनका लागि महत्वपूर्ण बजार मानिन्छ । मंगलबारका लागि भएको अग्रिम टिकट बुकिङलाई हेर्दा आज पनि फिल्मले ठूलो व्यापार गर्ने अनुमान गरिएको तरणले एक्समा लेखेका छन् ।
नितेश तिवारीको निर्देशन रहेको ‘रामायण’मा रणवीर कपूरले राम, यशले रावण, साई पल्लवीले सीता, सनी देओलले हनुमान र रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् ।


